बिशेष

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १ सय ३७ पुग्यो

हिमालय टिभी
२०८० कार्तिक १८ गते १३:१४
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १ सय ३७ पुग्यो

१८ कात्तिक २०८० काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको शक्तिशाली भूकम्पमा परी ठूलो जनधनको क्षति पुगेको छ । पछिल्लो अपडेट अनुसार १ सय ३७ जनाको मृत्यु भएको छ ।

जसमध्ये जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना भन्दा बढी घाइते भएका छन् । रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ । १ सय ४३ जना भन्दा घाइते भएका छन् ।

घाइतेहरको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । गंभीर घाइते भएकाहरुलाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । जाजरकोट र रुकुम पश्चिमका अस्पतालहरुमा विरामीले भरिएपछि उनीहरुलाई सुर्खेत रिफर गरिएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

भूकम्पबाट जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ। नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ ।

भूकम्पले माटोको जोडाइ भएका अधिकांश घरहरु भत्किएका छन् । खलंगामा जिल्ला मालपोत कार्यालयलगायत प्राय घरहरू भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबार पनि चर्किएको छ । भूकम्पले घरहरू भत्किएपछि स्थानीय बाहिर चौरमा बसेका छन् ।

अस्पतालहरू घाइतेले भरिएका छन् । भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा जाने सडक विभिन्न ठाउँमा अवरुद्ध हुँदा त्यहाँ पुग्न कठिन भएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी रहेको बताउनु भयो ।

पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ। गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए हो । भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको थियो ।

भूकम्प लगत्तै पराकम्पहरु गइरहेको छ । राति १२ बजेर ८ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्यूडको पराकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास थियो । त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४ दशमलव २ म्याग्निच्युडको अर्को पराकम्प गएको थियो । राति १२ बजेर ३५ मिनेट जाँदा ४ दशमलव ३ म्याग्निच्युडको पराकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *