मेस्सीको ऐतिहासिक ‘डबल सेन्चुरी’: २००औँ खेलमा ह्याट्रिकको उपहार
काठमाडौं : कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गर्यो । एरोहेड स्टेडियम, क्यान्सास सिटीमा आज बिहान अल्जेरियालाई ३–० ले हराउँदै अर्जेन्टिनाले उपाधि रक्षा अभियान थालनी गरेको हो । अनि यो खेलमा उनै कप्तान मेस्सीले अर्जेन्टिनालाई जितमात्र दिलाएनन्, विश्वकपमा व्यक्तिगत कीर्तिमानमा उचाइ थपे ।
२००६ जुन १६ मा एउटा १८ वर्षको दुब्लो पातलो ठिटो विश्वकपको मैदानमा पहिलो पटक छिर्यो । र २० वर्षपछि, २०२६ जुन १७ मा त्यही खेलाडीले विश्वकपमा यस्तो धमाका गर्यो, जसले फुटबल जगतलाई नै रोमाञ्चित बनायो ।
३८ वर्षको उमेर, खेलाडी, अझ विशेष गरि शारीरिक श्रम बढी हुने फुटबल जस्तो खेलका खेलाडी सन्यास लिइसकेका वा लिने क्रममा हुन्छन् । तर उनी परे, लियोनल मेस्सी, उनी त विश्वकपको मैदानमा विपक्षी डिफेन्डरलाई कायल बनाउँदै इतिहास लेख्दै छन् ।
क्यान्सास सिटीको एरोहेड स्टेडियममा विश्वकपको साबिक विजेता अर्जेन्टिना र अल्जेरिया आमनेसामने थिए । अनि झण्डै ७० हजार दर्शकको अगाडी रंगशालामा जे भयो, त्यो केवल एउटा फुटबल म्याच थिएन, त्यो त मेस्सीको मास्टरक्लास थियो । अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराउँदै २०२६ को फिफा विश्वकपमा सुखद सुरुवात मात्र गरेन, कप्तान मेस्सीले कीर्तिमानमाथि कीर्तिमान बनाए । अब उनलाई टक्कर दिने कोही होला जस्तो देखिँदैन ।
मिरोस्लाभ क्लोजको बराबरी
अल्जेरियाविरुद्ध मैदानमा उत्रिँदा सबैको नजर मेस्सीको खेलमा थियो, तर कसैले सोचेका थिएनन् कि त्यहाँ इतिहास बन्नेछ ।
खेलको १७ औँ, ६० औँ र ७६ औँ मिनेटमा गोल गर्दै जब उनले आफ्नो ह्याट्रिक पूरा गरे, विश्वकपमा उनको कुल गोल संख्या १६ पुग्यो । यससँगै उनले जर्मनीका लिजेन्ड स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरे । अब मेस्सीलाई यो कीर्तिमान एक्लै आफ्नो नाममा लेख्न मात्र एउटा गोलको आवश्यकता छ ।
६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी
फुटबलरहरूको करियरमा विश्वकप खेल्नु नै ठुलो सपना हो । तीन वा चार पटकको विश्वकप खेल्ने त निकै कम । तर मेस्सी न परे । अपबाद हुने भइहाले ।
सन् २००६ को जर्मनी विश्वकपदेखि सुरु भएको उनको यो यात्रा २०१०, २०१४, २०१८, २०२२ हुँदै अहिले २०२६ सम्म आइपुगेको छ । अल्जेरियाविरुद्धको खेलमा रेफ्रीको सिट्टी बज्ने बित्तिकै मेस्सी विश्वकप इतिहासमा ६ वटा फरक फरक संस्करण खेल्ने विश्वकै पहिलो खेलाडी बने । दुई दशकसम्म विश्व फुटबलको शीर्ष स्थानमा रहनु र फिट हुनु आफैँमा एउटा चमत्कार हो ।
एज इज जस्ट ए नम्बर
भनिन्छ नि, उमेर त केवल अंक मात्र हो । ३८ वर्षको उमेरमा, जहाँ अधिकांश खेलाडी सन्यास लिएर कमेन्ट्री बक्स वा छुट्टी मनाउन व्यस्त हुन्छन्, मेस्सी भने विश्वकपको मैदानमा डिफेन्डरलाई छक्याउँदै ह्याट्रिक गरिरहेका छन् । यो जादुमयी प्रदर्शनसँगै उनी फिफा विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी बने । उनले उमेरको सीमालाई फेरि एकपटक गलत साबित गरे ।
२० वर्षको रोचक संयोग
सुन्दा अचम्म लाग्छ,
मेस्सीको खेल जीवनको यो ६१ औँ र अर्जेन्टिनाका लागि ११ औँ ह्याट्रिक हो, तर विश्वकपको मञ्चमा भने उनको यो पहिलो ह्याट्रिक हो । यसअघि उनले विश्वकपमा कहिल्यै ह्याट्रिक गरेका थिएनन् । उनले २० वर्षअघि सर्बिया एण्ड मोन्टेनेग्रोविरुद्ध विश्वकपमा डेब्यु गर्दै आफ्नो पहिलो विश्वकप गोल गरे । त्यसको २० वर्षपछि आफ्नो पहिलो विश्वकप ह्याट्रिक गरे ।
५ वटा फरक विश्वकपमा गोलको रेकर्ड
मेस्सी विश्वकपका ५ वटा फरक फरक संस्करणमा गोल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र यो सफलता पाएका थिए। सन् २००६ मा गोल गरेका मेस्सीले २०१० मा गोल गर्न सकेका थिएनन्, तर त्यसपछिका हरेक संस्करणमा उनले विपक्षीको जाली चुमाए । अझ विशेष कुरा, उनले खेलेका पछिल्ला लगातार ५ विश्वकप खेल कतार विश्वकपको नकआउट चरणदेखि अहिलेसम्म लगातार गोल गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा डबल सेन्चुरी
अल्जेरियाविरुद्धको खेल मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा २०० औँ आधिकारिक खेल थियो ।
मेस्सीले आफ्नो यो डबल सेन्चुरी खेललाई जितमा मात्र सिमित राखेनन्, बरु ह्याट्रिक गरेर यसलाई इतिहासकै सबैभन्दा अविस्मरणीय खेलमध्ये एक बनाए ।
विश्वकप २०२६ भर्खर सुरु भएको छ र साविक विजेता अर्जेन्टिनाले आफ्ना विपक्षीलाई बलियो सन्देश दिइसकेको छ कि, उ उपाधि रक्षा गर्न आएको हो । अनि कप्तान लियोनल मेस्सीले प्रमाणित गरिदिएका छन् कि उनी हिजो पनि राजा थिए, आज पनि राजा हुन् र जबसम्म मैदानमा रहन्छन्, फुटबलको दुनियाँमा उनकै राज चल्नेछ ।

प्रतिक्रिया