रोनाल्डोको गतिलाई रोक्न सक्ला कङ्गो
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत आज राति समूह के का पोर्चुगल र डिआर कंगोबीच प्रतिस्पर्धा हुँदैछ । एनआरजी स्टेडियम, ह्युस्टनमा हुने खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ । त्यस्तै, यही समूहको अर्को खेलमा डेब्युटान एसियाली राष्ट्र उज्वेकिस्तान र कोलम्बिया आमनेसामने हुनेछन् । नेपाली समय अनुसार यो खेल भोलि बिहान पौने ८ बजे एज्टेका स्टेडियम, मेक्सिको सिटीमा हुनेछ ।
पोर्चुगल भर्सेस डीआर कंगो
विश्वकप अन्तर्गत समूह के को पहिलो खेलमा युरोपेली महाशक्ति पोर्चुगल र ५२ वर्षपछि फर्किएको डीआर कंगोबीच प्रतिस्पर्धा हुनेछ । एक पटक युरोकप जितिसकेको पोर्चुगलले विश्वकप खेल्न थालेको ६० वर्षसम्म उपाधि त के फाइनलसम्म पनि पुग्न सकेको छैन । यता ५२ अगाडी विश्वकपमा डेब्यु गरेको कंगोले अफ्रिकामा प्रभाव जमाएपनि विश्वकपमा भने दोस्रो पटक खेल्न ५ दशक भन्दा बढी समय कुनुपर्यो ।
पोर्चुगल
युरोपेली छनोटमा र्मेनियालाई ९–१ को विशाल अन्तरले हराउँदै समूह विजेता बनेको पोर्चुगल उत्कृष्ट लयमा छ । हालैका मैत्रीपूर्ण खेलहरूमा अमेरिका, चिली र नाइजेरियालाई हराएको पोर्चुगलसँग ब्रुनो फर्नान्डेज, जोआओ नेभेस र भिटिन्हा जस्ता विश्वस्तरीय मिडफिल्डरहरू छन्, जसले खेल नियन्त्रणमा राख्नेछन् । नुनो मेन्डेस जस्ता विङ्गरहरूले आक्रामक ओभरल्याप गर्ने रणनीति बनाउनेछन् । प्राविधिक रूपमा उच्च स्तरको फुटबल र उत्कृष्ट आक्रामक पंक्ति यस टोलीको मुख्य हतियार हो । रोनाल्डो अझै पनि टोलीको केन्द्रमा छन् र उनको अनुभवले ठूलो प्रतियोगितामा निर्णायक क्षण सिर्जना गर्न सक्छ ।
डीआर कंगो
प्लेअफमा जमैकालाई अतिरिक्त समयमा १–० ले हराउँदै कंगोले ५२ वर्षपछि विश्वकपको टिकट काटेको हो । कंगोले डिफेन्सिभ लो ब्लकमा बसेर पोर्चुगललाई रोक्ने र काउन्टर अट्याकमा मौका सिर्जना गर्ने रणनीति बनाउनेछ । काउन्टर अट्याक र रक्षात्मक रूपमा विपक्षीलाई थकाउन माहिर यो टोलीको शारीरिक र आक्रमक शैलीले पोर्चुगललाई समस्या पार्न सक्छ ।
हेड टू हेड
अन्तर्राष्ट्रिय फुटबल इतिहासमा पोर्चुगल र डिआर कंगोबीच यो पहिलो भेट हो ।
प्लेयर टु वाच
पोर्चुगल
क्रिस्टियानो रोनाल्डोः ४१ वर्षको उमेरमा आफ्नो ऐतिहासिक छैटौँ विश्वकप खेल्न लागेका रोनाल्डो टोलीको मुख्य खेलाडी हुन् । बक्सभित्र उनी क्लिनिकल फिनिसिङ र एयर बलमा खेल्न उत्कृष्ट छन् । उनी ६ वटा फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्ने ऐतिहासिक कीर्तिमानको नजिक छन् ।
डीआर कंगो
चान्सल म्बेम्बाः फ्रेन्च क्लब लिलमा आबद्ध म्बेम्बा कंगोको डिफेन्सका मेरुदण्ड हुन् । पोर्चुगिज आक्रमण र विशेष गरी रोनाल्डोलाई रोक्ने मुख्य जिम्मेवारी यिनै आक्रामक र टाइट मार्किङका लागि चिनिने डिफेन्डरको काँधमा हुनेछ ।
उज्वेकिस्तान भर्सेस कोलम्बिया
मध्य एसियाली फुटबलमा उदीयमान टोली उज्वेकिस्तान कोलम्बियाविरुद्ध खेल्दै विश्वकपमा डेब्यु गर्दैछ । अर्कोतर्फ, १ संस्करणपछि विश्वकपमा फर्किएको कोलम्बिया सहज जितको खोजीमा छ ।
उज्वेकिस्तान
पटक पटक छनोटको अन्तिम चरणसम्म पुगेर निराश भएको यो टोली ऐतिहासिक अबसरलाई अविस्मरणीय बनाउन चाहन्छ । उर्जावान युवा खेलाडी, अनुशासन, रक्षात्मक संगठन र काउन्टर अट्याक यसको विशेषता हो । तर, विश्वकपको पहिलो खेलको दबाब र अनुभवको कमी उनीहरूका लागि चुनौती बन्न सक्छ।
कोलम्बिया
दक्षिण अमेरिकी छनोटमा तेस्रो स्थान हासिल गर्दै आएको कोलम्बिया प्राविधिक र शारीरिक दुवै रूपमा बलियो छ । कोलम्बियाले खेलको सुरुवाती मिनेटदेखि नै उज्वेकिस्तानमाथि हाई प्रेसिङ राख्दै गल्ती गर्न बाध्य पार्ने रणनीति अपनाउनेछ । मिडफिल्ड र विङ्गरको सन्तुलनका कारण कोलम्बिया यो खेलमा हाबी हुने अनुमान छ ।
हेड टू हेड
यी दुई फुटबल इतिहासमा पहिलो पटक आधिकारिक खेलमा आमनेसामने हुन लागेका हुन् ।
प्लेयर टु वाच
कोलम्बिया
लुइस डियाजः बार्यन म्युनिखका यी विङ्गर आफ्नो गति, ड्रिबलिङ र काउन्टर अट्याकमा लेफ्ट फ्ल्याङ्कबाट डिफेन्स भत्काउन माहिर छन् ।
उज्वेकिस्तान
एल्डोर शोमुुरोडोभः कप्तान तथा टोलीका अनुभवी स्ट्राइकर शोमुरोडोभमाथि उज्वेकिस्तानलाई विश्वकप इतिहासकै पहिलो गोल र ऐतिहासिक नतिजा दिलाउने मुख्य दबाब र जिम्मेवारी छ ।

प्रतिक्रिया