मोइसेस काइसेडो, गल्लीको सङ्घर्षदेखि विश्वमञ्चसम्म
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह ई को बहुप्रतीक्षित भिडन्तमा अफ्रिकन च्याम्पियन आइभरी कोस्ट र दक्षिण अमेरिकी टोली इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो पटक आमनेसामने हुन लागेका यी दुईबीचको खेलमा चेल्सीका २४ वर्षीय मोइसेस काइसेडो मुख्य आकर्षण हुनेछन् ।
प्रिमियर लिग क्लब चेल्सीका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका काइसेडो यतिबेला इक्वेडरका निर्विवाद मेरुदण्ड बनिसकेका छन् । प्रशिक्षक सेबास्टियन बेकासेसेको रणनीतिमा उनी रक्षापङ्क्ति र आक्रमणबीचको एउटा बलियो कडी हुनेछन् ।
खेल जीवनको यात्रा, गल्लीको सङ्घर्षदेखि विश्वमञ्चसम्म
उत्तरी इक्वेडरको सान्तो डोमिन्गोमा १० भाइबहिनीमध्ये सबैभन्दा कान्छा छोराका रूपमा जन्मिएका काइसेडोको व्यावसायिक फुटबलर बन्नुअघिको यात्रा सङ्घर्षपूर्ण थियो । कुनै समय आमालाई सहयोग गर्न सडकमा सामान बेच्ने काइसेडोको प्रतिभालाई हाल इक्वेडरको सिरी ए क्लब इन्डिपेन्डिइन्टे डेल भालेका प्रशिक्षक मिगुएल रामिरेजले पहिचान गरे । काइसेडोका लागि मेन्टरको भूमिका निभाएका तिनै रामिरेजले सन् २०१९ मा यी ऊर्जावान् खेलाडीलाई शीर्ष डिभिजनको फुटबलमा डेब्यु गराए र उनलाई आफ्नो टोलीको मेरुदण्ड बनाए । युरोप प्रस्थानपछि भने रणनीतिक रूपमा उनी एक पूर्ण मिडफिल्डरका रूपमा परिष्कृत भए ।
विश्वकप सहभागिता र ऐतिहासिक कीर्तिमान
काइसेडोका लागि यो दोस्रो विश्वकप सहभागिता हो । यसअघि सन् २०२२ को कतार विश्वकपमा २१ वर्ष २७ दिनको उमेरमा सेनेगलविरुद्ध गोल गर्दै उनी विश्वकपको इतिहासमा गोल गर्ने इक्वेडरकै सबैभन्दा युवा खेलाडी बनेका थिए । कतारमा इक्वेडर समूह चरणबाटै बाहिरिए पनि काइसेडोले विश्वमञ्चमा आफ्नो गर्बिलो छाप छोड्न सफल भए । अहिले विश्वकै उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरमध्ये एक मानिने काइसेडोले सानो उमेरमै ठुलो अनुभव बटुलिइसकेका छन् ।
युरोप प्रस्थान र चेल्सी यात्रा
युरोपमा आफ्नो उत्कृष्ट मिडफिल्ड क्षमता प्रमाणित गरेपछि उनी १०० मिलियन युरोभन्दा बढीको कीर्तिमान रकममा चेल्सीमा आबद्ध भए । जसले उनलाई इतिहासकै सबैभन्दा महँगो इक्वेडोरियन खेलाडी बनायो । गत वर्ष चेल्सीलाई फिफा क्लब विश्वकपको उपाधि दिलाउन उनको भूमिका महत्त्वपूर्ण थियो, जहाँ उनले उत्कृष्ट तेस्रो खेलाडी बन्दै ब्रोन्ज बलसमेत जिते ।
किन प्लेयर टु वाच ?
आइभरी कोस्टविरुद्धको खेलमा काइसेडोको भूमिका निकै निर्णायक हुनेछ । आइभरी कोस्ट निकै बलियो लयमा छ, जसले भर्खरै मैत्रीपूर्ण खेलमा फ्रान्स जस्तो बलियो टोलीलाई २-१ ले पराजित गरेको थियो । उनी केवल विपक्षीको आक्रमण विफल बनाउन मात्र होइन, बल नियन्त्रणमा लिएर तुरुन्तै काउन्टर अट्याक सुरु गर्न पनि माहिर छन् ।
इतिहासकै सबैभन्दा उत्कृष्ट नतिजाको खोजीमा रहेको इक्वेडर र काइसेडोको यो ऐतिहासिक सपनाको वास्तविक परीक्षा सोमबार बिहान सुरु हुनेछ ।

प्रतिक्रिया