साडियो माने, फुटबलप्रतिको अटुट लगाव र आफैंमाथिको विश्वासले जन्माएको चर्चित नाम
काठमाडौं : अफ्रिका कप अफ नेशन्सको पूर्वविजेता तथा पछिल्लो संस्करणको उपविजेता सेनेगलले विश्वकप २०२६ को टोली घोषणा गर्दा आकर्षणको केन्द्रमा छन- साडियो माने ।
यी तिनै खेलाडी हुन् जसले सेनेगललाई पहिलो पटक अफ्रिकी च्याम्पियन बनाएका थिए । १२ वर्ष युरोपेली क्लब फुटबलमा सनसनी मच्चाउँदै अहिले एसियामा व्यवसायिक फुटबल खेलिरहेका माने आसन्न विश्वकपमा धेरैको नजरमा पर्ने खेलाडी हुन् ।
गरिबी र पारिवारिक अवरोध छिचोल्दै कठिन मानिएको युरोपेली फुटबलमा ऐतिहासिक सफलता पाउन सानो संघर्षले पुग्दैन । अनि जब नाम र दामको शिखरमा पुगेर विलासी जीवनभन्दा आफ्नै समाजप्रति कर्तव्यबोध हुन्छ त्यसका लागि सानो मनले सकिँदैन । यी दुबै सम्भव बनाउन साडियो मानेको जस्तो चरित्र हुनुपर्छ ।
सेनेगलको राजधानी डाकारबाट साढे ४ सय किलोमिटर भन्दा टाढा दुर्गम गाउँ बाम्बालीमा जन्मिएका एक बालक, जोसँग फुटबल खेल्न न त राम्रो जुत्ता थियो, न त परिवारको समर्थन । मानेसँग फुटबलप्रतिको अटुट लगाव र आफैंमाथिको विश्वास थियो र त विश्व फुटबलको चर्चित नाम बनेको छ ।
सुरुवाती संघर्ष र चुनौती
पिता स्थानीय धार्मिक गुरु, उनी चाहन्थे छोराले फुटबल होइन पढाईमा ध्यान दियोस् । तर मानेको मनमा फुटबलबाहेक केही थिएन । बुबाको निधनपछि परिवारको आर्थिक अवस्था कमजोर बन्यो । जटिल परिस्थितिका बीच पनि लक्ष्यप्रति अडिग उनलाई सन् २००२ को विश्वकपमा सेनेगलले गरेको उत्कृष्ट प्रदर्शनले फुटबलर बन्ने थप प्रेरणा दियो । १६ वर्षको उमेरमा आफ्नो सपना पछ्याउँदै घर छोडेर डकार पुगेका उनीसँग फुटबल एकेडेमीको ट्रायल दिँदा च्यातिएको जुत्ता र पुरानो हाफपेन्ट मात्र थियो । तर, जब उनले बललाई छोए, उनको असाधारण क्षमता देखेर प्रशिक्षक चकित भए र उनलाई जेनेरेसन फुट एकेडेमीमा छनोट गरियो ।
युरोपेली फुटबलमा उदय र उतारचढाव
मानेको व्यावसायिक यात्रा सन् २०११ मा फ्रान्सको क्लब मेट्जबाट सुरु भयो । त्यसपछि अस्ट्रियाको रेड बुल साल्जबर्ग हुँदै उनी इङ्लिस प्रिमियर लिगको क्लब साउथह्याम्पटन पुगे । जहाँ उनले प्रिमियर लिग इतिहासमै अहिलेसम्म सबैभन्दा छिटो २ मिनेट ५६ सेकेन्डमा ह्याट्रिक गरेर विश्वको ध्यान खिचे । एस्टन भिल्लाविरुद्ध उनले १३, १४ र १६ मिनेटमा गोल गर्दै कीर्तिमानी ह्याट्रिक पुरा गरे । सन् २०१६ मा लिभरपुलमा आबद्ध भएपछि मानेको खेल जीवनले नयाँ उचाइ लियो । मोहमद सलाह र रोबर्टो फिर्मिनोसँग मिलेर उनले युरोपमा तहल्का मच्चाए । लिभरपुललाई च्याम्पियन्स लिग र ३० वर्षपछिको प्रिमियर लिग उपाधि दिलाउन मानेको भूमिका अतुलनीय रह्यो । पछि बायर्न म्युनिख र २०२३ देखि साउदी प्रो लिगको अल नासरमा क्रिस्टियानो रोनाल्डोसँग खेल्दै गर्दा पनि उनको खेल स्तर घटेको छैन । आफु आबद्ध क्लबका लागि फिफा क्लब विश्वकप, च्याम्पियन्स लिग, प्रिमियर लिग, बुण्डेस लिगा जस्ता प्रतिष्ठित उपाधि जितेका उनले हालै अल नासरबाट साउदी प्रो लिग समेत जिताए । )
सेनेगलका संकट मोचक
सन् २०१२ देखि सेनेगलको राष्ट्रिय टोलीबाट खेल्न थालेका उनी सर्वाधिक गोल कर्ता हुन् । सेनेगलका लागि १२७ खेलमा उनले ५५ गोल गरिसकेका छन् । सन् २०२२ मा सेनेगललाई पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि दिलाउनु उनको खेल जीवनको सबैभन्दा सुनौलो क्षण बन्यो । अनि त्यो संस्करण उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी ।
मैदानबाहिरका नायक, द हम्बल च्याम्पियन
विश्वकै चर्चित र धनी खेलाडी बने पनि उनी आफ्नो विगत कहिल्यै बिर्सँदैनन् । आफूले भोगेको गरिबी अरूले भोग्नु नपरोस् भनेर उनले आफ्नो गाउँ बाम्बालीमा लाखौँ डलर खर्च गरेर अत्याधुनिक अस्पताल, विद्यालय र खेल मैदान, अति विपन्न परिवारलाई मासिक रूपमा आर्थिक भत्ता र इन्टरनेट सुविधा उपलब्ध गराएका छन् । विलासी जीवनबाट टाढा रहँदै आफ्नो कमाइ गरिबको सेवामा खर्चिने उदार मनले मानेलाई विश्वभरका फुटबल प्रशंसकको मुटुमा स्थापित गरेको छ ।

प्रतिक्रिया