खेलकूद

फिफा विश्वकप- समूह एचमा कस्ता छन् टिम ?

हिमालय टिभी
२०८३ जेठ २० गते २०:१२
फिफा विश्वकप- समूह एचमा कस्ता छन् टिम ?

काठमाडौं : फिफा विश्वकप २०२६ को समूह एचमा २ पटकको विजेता उरुग्वे र १ पटकको विजेता स्पेनसहित एसियाली अण्डर डग साउदी अरेबिया र डेब्युटान केप भर्डे छन् । दक्षिण अमेरिका, युरोप, एसिया र अफ्रिकाको फरक फुटबल फिलोसोफी बोकेका टोली एकै समूहमा हुँदा फरक पृष्ठभूमिको रोचक भिडन्त देख्न पाइनेछ ।

खेल अनुभव, टोलीको स्तर, फिफा वरियता र विगतका नतिजाको आधारमा समूह एचबाट नकआउटमा पुग्ने दाबेदार टोलीहरु उरुग्वे र स्पेन नै हुन् । विश्वकपका पछिल्ला संस्करणमा सन्तोषजनक नतिजा नआए पनि पछिल्लो युरोकप जित्दै स्पेनले आफु लयमा फर्किएको सन्देश दिएको छ । यो समूहको बलियो दाबेदार स्पेन नै हो । तर उसलाई दक्षिण अमेरिकी टोली उरुग्वे मुख्य प्रतिद्धन्दीका रुपमा रहनेछ । तर गत संस्करण समूह चरणमा स्तब्ध नतिजा हासिल गरेको साउदी अरेबियालाई कम आँक्न सकिन्न । फेरी पहिलो पटक विश्वकप खेल्दै गरेको केप भर्डे सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

स्पेन

(सन् २०१० को विश्व विजेता स्पेन यसपटक त्यही नतिजा दोहोर्याउने लक्ष्यमा छ । यद्यपी विश्वकपको उपाधि जितेयताका ३ संस्करण उसका लागि सुखद बन्न सकेको छैन । २०१४ मा समूह चरणबाटै बाहिरिएको उस पछिल्ला २ संस्करण प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।)

तर युरोपको स्तरीय फुटबल प्रतियोगिता युरोकप जितेर उसले विश्वकपमा दाबेदारका रुपमा आउने संकेत गरिसकेको छ । मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेको टोली बल नियन्त्रणमा विश्वास गर्छ । अनि छरितो पास, तीव्र दबाब र प्रतिद्वन्द्वीको कमजोरमा खेल्न सक्षम रोड्रीको पुनरागमनले मिडफिल्डलाई थप बलियो बनाएको छ । युवा स्टार लामिन यमाल स्पेनलाई दोस्रो उपाधि दिने लक्ष्यमा एक्स फ्याक्टर हुन् ।

उरुग्वे

दुई पटकको विश्वकप विजेता उरुग्वे यो समूहको अर्को बलियो शक्तिको रूपमा मैदानमा उत्रिने छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनालाई हराएर आएको उरुग्वेको आक्रामक अग्रपंक्ति र बलियो रक्षापंक्तिले विपक्षीलाई कठिन चुनौती दिनेछ । समूह विजेताका लागि उरुग्वे र स्पेनबीचको खेलको नतिजा निर्णायक बन्न सक्छ । विपक्षीमाथि तीव्र दबाब, आक्रमण र शारीरिक चुस्ततामा आधारित शैलीले यो टोलीलाई खतरनाक बनाएको छ । )

विश्वकपका सुरुवाती संस्करण अझ भनौं आफू सहभागी सुरुवाती २ संस्करण लगातार जितेको उरुग्वेले २०१० यसताका संस्करणमा त्यो लय भेट्टाउन सकेको छैन । यो समूहबाट स्पेन र उरुग्वे नै शीर्ष २ मा रहने प्रबल दाबेदार हुन् ।

साउदी अरेबिया

एशिया महादेशबाट छनोट भएको साउदी अरेबिया यसपटक समूहमा अर्को रोमाञ्चक यात्राको तयारीमा छ । गत संस्करण समूह चरणमा अर्जेन्टिना जस्तो बलियो टोलीलाई हराएर विश्व चकित पारेको साउदी यसपटक कम्तीमा उस्तै नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ । यसका लागि उसको मुख्य निशाना स्पेन र उरुग्वे नै हुन् ।

स्पेन र उरुग्वेविरुद्ध रक्षात्मक रणनीति र काउन्टर अट्याकमार्फत अनुकुल नतिजा हासिल गर्दै समूहको समीकरण फेरबदल गर्न साउदी सक्षम छ । हाई प्रेसिङ र क्‍वीक ट्रान्जिसनमा आधारित यो टोलीको डिफेन्स लाइनलाई लिएर प्रश्न समेत उब्जिएको छ । यस्तोमा रक्षापंतिमा सुधार गरे साउदी दोस्रो पटक नकआउट चरणमा पुग्ने सम्भावना पनि छ ।

केप भर्ड

अफ्रिकी राष्ट्र केप भर्डले इतिहासमै पहिलो पटक फिफा विश्वकपमा स्थान बनाउँदै सनसनी मच्चाएको छ। समूहमा सबैभन्दा कमजोर मानिए पनि यो टोली गुमाउन केही नभएको मानसिकता सहित मैदान उत्रनेछ । जसले टोलीलाई जुनसुकै बेला पनि स्वतन्त्र भएर खेल्ने छुट हुनेछ । रक्षात्मक खेल्ने यो टोली काउन्टरमा तीव्र आक्रमण गर्ने मौका सिर्जना गर्न सक्षम छ ।

 

यसरी यो समूहबाट पूर्वविश्व विजेताहरु स्पेन र उरुग्वे नकआउट चरणमा पुग्ने सबैभन्दा बलिया दाबेदार हुन् । यद्यपि, साउदीले पछिल्लो पटक जस्तै अप्रत्याशित नतिजा निकाल्न सक्ने र डेब्यु गरिरहेको केप भर्डले सरप्राइज प्याकेजको रूपमा रहँदा यो समूहमा रोमाञ्चक भिडन्त हुने अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *