खेलकूद

दक्षिण अफ्रिका र नेदरल्याण्ड्सको विश्वकप खेल्ने टोली घोषणा

२०८३ जेठ १४ गते १९:०५
दक्षिण अफ्रिका र नेदरल्याण्ड्सको विश्वकप खेल्ने टोली घोषणा

काठमाडौं : अफ्रिकी पावरहाउस दक्षिण अफ्रिका र युरोपियन जायन्ट नेदरल्याण्ड्सले विश्वकपका लागि आफ्नो २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । दुवै टोलीले अनुभवी र युवा प्रतिभाको सन्तुलन मिलाउन खोजेका छन् ।

उत्तर अमेरिकाको ३ राष्ट्रमा हुने विश्वकप २०२६ का लागि सहभागी देशले जुन १ सम्म आफनो अन्तिम टोली फिफामा बझाउनु पर्ने समयसिमा छ । समय सिमा नजिकिँदै गर्दा सहभागि राष्ट्र धमाधम विश्वकप खेल्ने टोली सार्वजनिक गरिरहेका छन् । यसैक्रममा पछिल्लो पटक दक्षिण अफ्रिका र नेदरल्याण्ड्सले आफ्नो २६ सदस्यीय टोली सार्वजनिक गरेको छ ।

दक्षिण अफ्रिका

सबैभन्दा पहिले कुरा गरौँ, लामो समयपछि विश्वकपमा पुनरागमन गरिरहेको दक्षिण अफ्रिकाको । सन् २०१० मा घरेलु मैदानमा विश्वकप खेलेयता पहिलो पटक विश्व मञ्चमा फर्किएको दक्षिण अफ्रिका यस पटक सरप्राइज प्याकेज बन्ने दाउमा छ। मुख्य प्रशिक्षक ह्युगो ब्रुसले अनुभवी खेलाडीलाई समेट्दै टोली घोषणा गरे । टोलीको कप्तानी प्रभावशाली गोलकिपर रोनवेन विलियम्सले गर्नेछन् । टोलीमा शीर्ष श्रेणीको घरेलु लिग साउथ अफ्रिकन प्रिमियरसिप क्लबका खेलाडीको वर्चश्व छ । मिडफिल्डमा दक्षिण अफ्रिकी स्टार तेबोहो मोकोएना र अग्रपंक्तिमा बर्नलीका स्ट्राइकर लाइल फोस्टरले कमान सम्हाल्नेछन् । दक्षिण अफ्रिका रहेको समूह ए मा घरेलु टोली मेक्सिको, चेक रिपब्लिक र दक्षिण कोरिया छन् । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले मेक्सिकोसँग खेल्नेछ ।

नेदरल्याण्ड्स

नेदरल्याण्ड्सले पनि आफ्नो बलियो टोली सार्वजनिक गरेको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको डच टोलीमा यस पटक केही सुखद पुनरागमन र केही स्तब्ध पार्ने अनुपस्थिति देखिएको छ । नेदरल्याण्ड्सका सर्वकालीन उच्च गोलकर्ता मेम्फिस डिपे चोटमुक्त हुँदै टोलीमा फर्किएका छन् । जसले डच टोलीको आक्रमणलाई ठूलो ऊर्जा दिनेछ । टोलीको कप्तानी अनुभवी डिफेन्डर भर्जिल भान डाइकले गर्नेछन् । डिफेन्स लाइनमा भान डाइकलाई नाथन आके र मिकी भान डे भेनले साथ दिनेछन् । अग्रपंक्तिमा कोडी गाक्पो र डोन्येल मालेन जस्ता खेलाडी छन् । जेरेमी फ्रिमपोङ यस पटक टोलीमा नपर्नुलाई धेरैले आश्चर्यका रूपमा हेरेका छन् । नेदरल्याण्ड्स रहेको समूह एफमा जापान, स्वीडेन र ट्युनिसिया छन् । समूहको पहिलो खेलमा डच टोलीको भेट एसियाली पावर हाउस जापानसँग हुनेछ ।

दक्षिण अफ्रिकाको जोस र नेदरल्याण्ड्सको रणनीतिक डिफेन्सले यो विश्वकपलाई अझ रोमाञ्चक बनाउनेछ । दुवै टोली आफ्ना स्टार खेलाडीको लय र युवाको उत्साहको भरमा प्रतियोगितामा धेरै अघिसम्म पुग्ने लक्ष्यमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *