विदेश

कोरोनाविरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलता नजिकः डब्ल्यूएचओ

हिमालय टिभी
२०७७ माघ ६ गते ८:१६
कोरोनाविरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलता नजिकः डब्ल्यूएचओ

६ माघ २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलताको नजिक रहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरिब देशले चुकाउनुपर्ने उहाँको भनाइ छ । आफूलाई मात्र खोपको जोहो गर्ने शैलीप्रति संकेत गर्दै यस्तो अवस्थामा खोपको मूल्य तथा हामारी झन् बढ्ने र थप प्रतिबन्धका कारण आर्थिक समस्या डरलाग्दो हुने डब्ल्यूएचओको चेतावनी छ ।

गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसले पहिले खोप पाउनु उचित नहुने उहाँको तर्क छ । अहिलेसम्म विश्वमा तीन करोड ९० लाख खोपको मात्रा लगाइएकोमा त्यो ४९ धनी देशका मानिसले पाएको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए ।

हालसम्म चीन, भारत, रुस, बेलायत र अमेरिकाले खोपको विकास गरिरहेको र सबैले आफ्ना देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् । डब्ल्यूएचओले विश्वमा खोपको समान वितरणका लागि अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको प्रतिबद्धता आह्वान गरेको छ ।

हालसम्म १ सय ८० देश सम्मिलित कोभ्याक्स अभियान अन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ। यस अभियान अन्तर्गत न्यून वा मध्यम आयका ९२ देशका निम्ति विभिन्न दाताले खोपको शुल्क तिर्ने छन् ।

डब्ल्यूएचओले आउने अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशमा खोप अभियान शुरु हुने अपेक्षा समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *