विदेश

भारतमा कोभिशिल्ड खोप लगाएकामध्ये ४ सय ४७ जना बिरामी

हिमालय टिभी
२०७७ माघ ५ गते ९:१८
भारतमा कोभिशिल्ड खोप लगाएकामध्ये ४ सय ४७ जना बिरामी

५ माघ २०७७ नयाँ दिल्ली । भारतमा कोरोनाविरुद्धका खोप लगाएकाहरु बिरामी पर्न थालेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोनाविरुद्धका खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको पुष्टि गरेको छ । मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरेर १६ जनवरीका दिन खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको र ३ जना अस्पताल भर्ना भएको जानकारी दिएको हो ।

खोप लगाएपछि निगरानीमा रहेकाहरुमध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले खोप लगाइसकेपछि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएमा त्यसलाई गम्भीर भन्न सकिने उल्लेख गर्दै हालको अवस्थामा जम्मा ३ जनालाई मात्रै अस्पताल भर्ना गरिएकाले यसलाई गम्भीर भन्न नमिल्ने बताउनुभयो ।

उहाँले खोप लगाएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने र मन आत्तिनेजस्ता समस्या देखिएको पनि बताउनुभयो । स्वास्थ्य सचिव अगनानीकाअनुसार पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई खोप लगाइसकिएको छ ।

भारत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म १ करोड ५७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने एक लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *