विदेश

युरेनियमको शुद्धता थप बढाउने इरानको तयारी

हिमालय टिभी
२०७७ पुष १८ गते ९:०९
युरेनियमको शुद्धता थप बढाउने इरानको तयारी

१८ पुस २०७७ तेहरान । इरानले आफ्नो प्रशोधित युरेनियमको शुद्धता थप बढाउने तयारी गरेको छ।

युरेनियमको शुद्धता २० प्रतिशत बनाउने इरानले तयारी थालेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको इन्टरनेशनल अटोमेटिक इनर्जी एजेन्सी (आइएइए) ले जनाएको हो ।

आफ्नो परमाणु क्षमता थप विस्तार गरेर युरेनियमको शुद्धता २० प्रतिशत बनाउने इरानको कदम अन्तर्राष्ट्रिय परमाणु सम्झौताको अहिलेसम्मकै सबैभन्दा ठूलो उल्लंघनको हुने जनाइएको छ ।

परमाणु बम बनाउन ९० प्रतिशत शुद्ध युरेनियमको मात्रा आवश्यक मानिन्छ । सन् २ हजार १५ को सम्झौतामा इरानको युरेनियम शुद्धता चार प्रतिशतमा सीमित हुनुपर्ने कायम गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई परमाणु सम्झौताबाट बाहिर निकाल्दै इरानमाथि पुनः प्रतिबन्ध लगाउन थालेपश्चात इरानले परमाणु क्षमता विस्तार गर्न थालेको छ । तर बेलायत, फ्रान्स, जर्मनी, रुस तथा चीनले पाँच वर्ष पहिलेको सम्झौता पुनर्जीवित हुने अपेक्षा गरिरहेका छन् ।

इरानले युरेनियमको क्षमता बढाउन लागेको बारे आइएइएलाई जानकारी गराएको बताइएको छ । तर इरानले पठाएको पत्रमा परमाणु क्षमता विस्तार कहिलेसम्म हुन्छ भन्ने नखुलाइएको अन्तरराष्ट्रिय सञ्चार माध्यमको भनाइ छ ।

अहिले इरानको परमाणु क्षमता ४ दशमलव ५ प्रतिशतमा छ । इरानको संसदबाट गत महिना पारित कानून अनुसार परमाणुको शुद्धता २० प्रतिशत बनाउनु अनिवार्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *