विदेश

बेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन आफ्ना सदस्य राष्ट्रहरूलाई ईयूको आग्रह

हिमालय टिभी
२०७७ पुष ८ गते ९:१८
बेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन आफ्ना सदस्य राष्ट्रहरूलाई ईयूको आग्रह

८ पुस २०७७ काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर बेलायतसँगको यात्रामा लगाइएको प्रतिबन्ध हटाउन युरोपेली आयोगले आफ्ना सदस्य देशलाई सिफारिस गरेको छ ।

ईयूका २७ सदस्य राष्ट्रका राजदूतको बैठकअघि आयोगले यात्रामा प्रतिबन्ध हटाउन सिफारिस गरेको हो । यद्यपि सबैले त्यसलाई मान्नैपर्ने बाध्यता भने नरहेको बताइएको छ ।

सीमा नियन्त्रणसम्बन्धी आआफ्नै नीति अपनाउन स्वतन्त्र भएकाले सदस्य राष्ट्रले आफ्नो कदमलाई निरन्तरता दिन सक्ने छन् । त्यस्तै कोरोनाको परीक्षण गराउने वा फर्केर एकान्तवासमा जाने प्रतिबद्धता जनाउने नागरिकलाई आआफ्नो देश फर्कन दिन आयोगको सिफारिस छ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएसँगै ईयूका सबै देशलगायत विश्वका ५० भन्दा बढी देशले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन् । यसबारे साझा नीति तयार गर्न ईयूको आकस्मिक बैठकहरू बस्दै आएका छन् ।

उता फ्रान्स र बेलायतबीच ढुवानी तथा केही यात्रु सेवा सञ्चालनमा सहमति जुटेको छ । यात्रा प्रतिबन्धपछि दुई देशबीच सामान ओसारपसार गर्ने हजारौं सवारीसाधन लगायत मानिसहरु सीमा क्षेत्रमा अलपत्र परेका थिए।

यस अन्तर्गत प्रवेश पाउने ढुवानीका चालक तथा ईयूका नागरिकले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।

उता अमेरिकाले बेलायत र अन्य केही देशमा पछिल्लो १४ दिनदेखि बस्दै आएका गैरअमेरिकी नागरिकमाथि प्रवेशमा रोक लगाएको छ । अहिले बेलायत, डेनमार्क, अष्ट्रेलियन, इटाली र द नेदरल्याण्ड्समा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ। नयाँ भाइरस पहिलाको भन्दा तीव्र गतिमा फैलने भएपनि धेरै घातक भने नरहेको विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *