विदेश

चुनावी नतिजा उल्ट्याउन ट्रम्पले गभर्नरलाई दिए दबाब

हिमालय टिभी
२०७७ मंसिर २१ गते ९:५९
चुनावी नतिजा उल्ट्याउन ट्रम्पले गभर्नरलाई दिए दबाब

२१ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गभर्नरलाई आफ्नो पक्षमा नतिजा उल्ट्याउन दबाव दिएका छन् ।

राष्ट्रपति ट्रम्पले आफू पराजित भएको राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाव दिएका हुन् ।

राष्ट्रपति चुनावमा पराजित भएपछि पहिलोपटक जर्जियामा आगामी जनवरीमा हुने दुई सिनेट सिटको रनअफ चुनावका लागि सभा गर्न पुगेका ट्रम्पले नतिजा उल्ट्याउन भनेका छन्।

आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका ट्रम्पले जर्जियामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितलाई खारेज गर्दै आफ्नो पक्षमा नतिजा उल्ट्याउन दबाव दिए ।

शृङ्खलावद्ध ट्वीटमार्फत गभर्नर केम्पलाई राज्य संसदको विशेष अधिवेशन बोलाउन आग्रह गरेको केही घण्टापछि ट्रम्प जर्जियाको चुनावी सभामा पुगेका थिए । जर्जियामा तीन पटक भएको गणनामा बाइडेन नै विजयी भएका छन् ।

गएको नोभेम्बर ३ तारिखमा सम्पन्न चुनावमा राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३ सय ६ मत जित्ने निश्चित भएको छ । राष्ट्रपति चुनावमा जर्जियाको हार जित प्रमुख राज्यका रुपमा देखिएको थियो ।

बाइडेनले त्यहाँ साँघुरो जित निकालेका छन् । सन् १९ सय ९२ पछि पहिलोपटक राष्ट्रपति चुनावमा जर्जियाबाट डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् । राज्यका दुई सिनेट सिटमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण त्यहाँ रनअफ चुनाव हुँदैछ ।

माथिल्लो सदन सिनेटको शक्ति सन्तुलनका लागि यी दुई सिटमा हुने चुनाव महत्वपूर्ण रहेका छन् । रिपब्लिकन र डेमोक्र्याट माथिल्लो सदनमा आफ्नो पकडका लागि यी दुई सिटमा जित निकाल्न केन्द्रित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *