विदेश

अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्न आदेश दिने राष्ट्रपति ट्रम्पको तयारी

हिमालय टिभी
२०७७ मंसिर ३ गते ७:५१
अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्न आदेश दिने राष्ट्रपति ट्रम्पको तयारी

३ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने तयारी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको अमेरिकी सञ्चारमाध्यमले दाबी गरेका हुन् ।

अफगानिस्तानमा सन् २ हजार २१ को जनवरीसम्म आधा सैनिक फिर्ता गरेर २ हजार ५ सय सम्म पुर्‍याइने अधिकारीहरूले बताएका छन्। त्यस्तै इराकमा थप पाँच सय सैनिक कटौती गर्दै २ हजार ५ सय मात्र राखिने बताइएको छ।

राष्ट्रपति ट्रम्पले यसअघि नै क्रिसमससम्म सबै सैनिकलाई घर फर्काउने चाहेको बताएका थिए । सैनिक फिर्ता ल्याउने काम जनवरी १५ सम्म सकिनुपर्ने सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका छन्। उनले अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउने गरेका छन्।

गएको सेप्टेम्बरमा पेन्टागनले इराकबाट एक साताभित्र एक तिहाइभन्दा बढी सेनालाई फिर्ता ल्याउनुपर्ने बताएको थियो। त्यसबेला उसले ५ हजार २ सय सैनिक संख्यालाई घटाएर तीन हजार बनाएको थियो।

त्यसबेला जिहादी समूह इस्लामिक स्टेटको बाँकी रहेको अवशेष अन्त्य गर्न इराकमा रहेका अमेरिकी सेनाले इराकी सुरक्षा बललाई सल्लाह दिन र सहयोग गर्न जारी राख्ने बताइएको थियो ।

त्यस्तै अमेरिकाले यसै वर्षको शुरुदेखि अफगानिस्तानबाट तालिबानसँगको शान्ति सम्झौता अनुसार आफ्ना सेना फिर्ता गर्न थालेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *