विदेश

चीनले दियो नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई तथा शुभकामना

हिमालय टिभी
२०७७ कार्तिक २९ गते ७:३७
चीनले दियो नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई तथा शुभकामना

२९ कात्तिक, २०७७ बेइजिङ । चीनले अन्ततः नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई तथा शुभकामना दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भएको लामो समयपछि चीनले जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी नागरिकको छनौटलाई सम्मान गर्दै,बाइडेन र ह्यारिसलाई बधाई दिएको बताए ।

अमेरिका र चीनबीचको सम्बन्ध दुबै देशका साथै विश्वकै लागि महत्वपूर्ण रहेको छ । तर पछिल्लो समय व्यापार, निगरानी तथा कोरोना भाइरसको महामारीलाई लिएर अमेरिका र चीनबीचको सम्बन्धमा तनाव छ ।

उता रुसले अहिलेसम्म बाइडेन र ह्यारिसलाई बधाई दिएको छैन । चार वर्ष अघि डोनाल्ड ट्रम्प निर्वाचित हुँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बधाई दिने विश्वका पहिलो नेतामध्ये थिए ।

रुसी प्रवक्ता डिमित्री पेस्कोभले औपचारिक चुनावी नतिजा आउँदासम्म पर्खनु उपयुक्त हुने बताएका छन् । अमेरिकामा औपचारिक मतपरिणाम डिसेम्बर १४ मा घोषित हुने भएपछि विगतदेखि कै चलन अनुसार विजयी हुने उम्मेदवारलाई विश्वका नेताले बधाई दिन्छन् । तर यस पटक पराजित भएका राष्ट्रपति ट्रम्पले धाँधलीभएको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

यसैबीच अमेरिकाका सबै ५० राज्यको मत गणना सकिएको छ । ५० राज्यका ५ सय ३८ इलेक्टोरल कलेज मत मध्ये बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज मत जितेका छन् ।

उता ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत पाएका छन् । राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल कलेज मतको आवश्यकता हुन्छ ।

बाइडेनले यस पटक परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएका दुई राज्य एरिजोना र जर्जियामा जित हासिल गरेर डेमोक्रेटिक पार्टीको पकड बिस्तार गरेका छन् । जर्जियामा सन् १९ सय ९२ पछि जित हासिल गर्ने बाइडेन पहिलो राष्ट्रपति समेत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *