विदेश

विश्व बैंकले गरिब देशलाई कोरोनाविरुद्धको खोप खरिद गर्न १२ अर्ब डलर सहयोग गर्ने

हिमालय टिभी
२०७७ असोज १४ गते १८:५२
विश्व बैंकले गरिब देशलाई कोरोनाविरुद्धको खोप खरिद गर्न १२ अर्ब डलर सहयोग गर्ने

१४ असोज, २०७७ काठमाडौं । विश्व बैंकले गरिब देशलाई कोरोनाविरुद्धको खोप खरिद गर्न १२ अर्ब डलर सहयोग गर्ने भएको छ।

यो रकमले गरिब देशका दुई अर्ब मानिसलाई पुग्ने खोप किन्न सकिने बैंकले बताएको छ । धनी देशहरूले खोप प्राप्त गर्नबाट कम आय भएका देशलाई बाहिर नपारून् भन्ने उद्देश्यले विश्व बैंकले यो योजना बनाएको छ ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोभिड–नाइन्टिनको प्रभाव विकसित देशको तुलनामा निम्न तथा मध्यम आय भएका देशमा बढी परिरहेकाले पनि यो कदम चालिएको बताउनुभयो ।

अमेरिका, बेलायत, चीन, रुसलगायतका देशले खोप निर्माणलाई तीव्रता दिएका छन् । उच्च आय भएका देशले भ्याक्सिन पहिला नै आफ्नो लागि सुरक्षित गर्न थालेका छन् ।

यस्तोमा गरिब देशले पनि त्यो औषधि पाउने निश्चितता हुनुपर्छ भन्दै यस्तो योजना बनाएको विश्व बैंकले जानकारी दिएको छ।

विश्व बैंकले सहयोग दिनका लागि सम्बद्ध मुलुकको स्वास्थ्य सेवाको अवस्थाबारे अध्ययन गरिसकेको छ । कोरोना नियन्त्रणमा बैंकले गरेको सहयोग लाभदायी बनाउन प्रयास गरिने पनि विश्व बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *