कला/मनोरञ्जन

उप्रेतीको उपन्यास हंसलाई पद्यश्री साहित्य पुरस्कार र प्रश्रितलाई पद्यश्री सम्मान प्रदान गरिने

हिमालय टिभी
२०७७ असोज ११ गते ७:०५
उप्रेतीको उपन्यास हंसलाई पद्यश्री साहित्य पुरस्कार र प्रश्रितलाई पद्यश्री सम्मान प्रदान गरिने

११ असोज, २०७७ काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा विक्रम सम्बत २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानून तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता, त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन् ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रश्रित पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन् ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. तीन लाख रहेको छ ।

विक्रम सम्बत २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर गरेका पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । त्यस्तै विक्रम सम्बत २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएकोमा यस पटक विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *