विदेश

भारत र ब्राजिलमा हालसम्मकै धेरै कोरोना संक्रमित फेला

हिमालय टिभी
२०७७ साउन १५ गते ७:३४
भारत र ब्राजिलमा हालसम्मकै धेरै कोरोना संक्रमित फेला

१५ साउन, २०७७ काठमाडौं । पछिल्लो समय अमेरिका, ब्राजिल तथा भारतमा संक्रमण थप भयावह हुँदै गइरहेको छ । बितेको २४ घण्टामा ब्राजिल र भारतमा हालसम्मकै धेरै मानिसमा संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा ७० हजार ८ सय ६९ तथा भारतमा ५२ हजार २ सय ४९ जना मानिस कोरोनाबाट संक्रमित भए । यसअघि ब्राजिलमा जुलाई २२ तारिखमा एकैदिन ६५ हजार ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५५ हजार ५ सय १८ पुगेको छ । उता भारतमा पनि एकैदिन अहिलेसम्मै धेरै जनामा संक्रमित भएको छ ।

यसअघि भारतमा जुलाई २६ मा एकैदिन ५० हजार ५ सय २५ जना संक्रमित भएका थिए । पछिल्लो पटक भारतमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर गइरहेको छ । त्यहाँ एक हप्ता यता दैनिक संक्रमित हुनेको दर ४५ हजार भन्दा माथि रहेको छ ।

भारतमा कोरोना संक्रमित १५ लाख ८४ हजार ३ सय ८४ जना पुगेका छन् । यसैबीच भारतले अब संक्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर संक्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको छ ।

बुधबार विश्वभर २ लाख ८४ हजार ४ सय ५५ जना संक्रमित भएका छन् । यो संख्या एकैदिनमा संक्रमित हुने दोस्रो धेरै हो । यो भन्दा बढी जुलाई २४ मा सबैभन्दा धेरै २ लाख ८९ हजार ६ सय ११ जना संक्रमित भएका थिए ।

उता पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ६ हजार ८ सय २६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलमा १ हजार ५ सय ५४ जना छन् । त्यस्तै अमेरिकामा १ हजार ४ सय ८५ तथा भारतमा ७ सय ७९ जनाले ज्यान गुमाए ।

अमेरिकामा अहिलेसम्म १ लाख ५३ हजार ४ सय ४०, ब्राजिलमा ९० हजार १ सय ८८ तथा भारतमा ३५ हजार ३ जनाको मृत्यु भैसकेको छ । यस्तै विश्वभर हालसम्म १ करोड ६८ लाख ५ हजार भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *