विदेश

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिए, एकै दिन १७ हजारमा संक्रमण

हिमालय टिभी
२०७७ असार ११ गते १८:३१
भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिए, एकै दिन १७ हजारमा संक्रमण

११ असार, २०७७ नयाँ दिल्ली । भारतमा पछिल्लो पटक अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुकमा एकै दिन झण्डै १७ हजार संक्रमित भेटिएका हुन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार नौ सय २२ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या चार लाख ७४ हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा चार सय १८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । मृतकको संख्या करिव १५ हजार पुगेको छ । पछिल्लो एक सातामा भारतमा दैनिक १५ हजारको दरले नयाँ संक्रमित थपिएका छन् ।

यस्तै पाकिस्तानमा पनि चार हजारभन्दा बढी संक्रमित र एक सय ४८ मृतक थपिएका छन् । पाकिस्तानमा संक्रमितको संख्या एक लाख ९३ हजार नजिक पुगेको छ भने ३९ सयले ज्यान गुमाइसकेका छन् ।

बंगलादेशमा पनि ३ हजार ९ सयभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या एक लाख २६ हजार नाघेको छ भने १६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

रुसमा पछिल्लो पटक सात हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या ६ लाख १३ हजार नाघेको छ भने ८६ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

मेक्सिकोमा पछिल्लो पटक नौ सय ४७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ मृत्यू हुनेको संख्या २४ हजार नाघेको छ । संक्रमितको संख्या पनि एक लाख ९६ हजार नाघेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या एघार लाख ९२ हजार नाघेको छ भने झण्डै ५४ हजारले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा यो संख्या २४ लाख ६२ हजार नाघेको छ ।

मृतकको संख्या पनि एक लाख २४ हजार नाघेको छ । विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म साढे ९५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने चार लाख ८३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *