विदेश

दुनियाँलाई बङ्करमा लुक्न बाध्य पार्ने अमेरिकी राष्ट्रपति नै किन बङ्करमा लुक्न बाध्य भए ?

हिमालय टिभी
२०७७ जेठ १९ गते २०:०४
दुनियाँलाई बङ्करमा लुक्न बाध्य पार्ने अमेरिकी राष्ट्रपति नै किन बङ्करमा लुक्न बाध्य भए ?

जर्ज फ्लोइडको हत्याको विरोधमा अहिले अमेरिकाको सडक अशान्त छ। अमेरिकाका सबैजसो ठूला सहरमा लाखौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । त्यहाँ कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीले त्यसलाई टेरेका छैनन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस आसपासको क्षेत्रमा हिंसात्मक प्रदर्शन भएपछि डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले बङ्कर भित्र लगेका छन् ।

यो गएको हप्ताको सोमबार साँझको घटना हो । यहाँ एक जना प्रहरी अफिसरले एक अस्वेत नागरिकलाई हतकडी लगाएपछि पनि घुँडाले घाँटी थिचिरहेका छन् । इन्टरनेटमा भाइरल भएको यो भिडियोमा घाँटी थिचिने अस्वेत मानिस जर्ज फ्लोइड हुन् । उनले आफूलाई सास फेर्न गाह्रो भइरहेको भनिरहेका छन् । भिडियो खिच्नेसँगै हेरिरहेका अरु मानिस पनि जर्जलाई छोड्न भनिरहेका छन् ।

जर्जले मलाई नमार, मलाई सास फेर्न गाह्रो भइरहेको छ भनेर घुँडा हटाउन बारम्बार यी प्रहरी अधिकारीलाई अनुरोध गरिरहेका छन् । तर यी प्रहरी कसैको कुरा सुन्दैनन् ।

एकछिनपछि जर्ज बेहोस हुन्छन् । तर पनि प्रहरीले उनीप्रति दया देखाउँदैनन् । उनी बेहोस भएको तीन मिनेटपछि सम्म पनि यी प्रहरीले घाँटी थिचिरहन्छन् ।

ती निर्दयी प्रहरीको नाम डेरेक चाउभिन हो । जसलाई घटनापछि पक्राउ गरेर हत्या अभियोगमा मुद्धा चलाइएको छ । उनीसँगै रहेका अन्य तीन प्रहरीलाई पनि निलम्बन गरिएको छ ।

घटना यही हो, जसले पछिल्लो एक हप्तादेखि अमेरिकाका सडक तताइरहेको छ । कोरोना भाइरसको संक्रमणको डर एकातिर छ, तर जर्ज फ्लोइडलाई न्याय दिलाउनका लागि लाखौं मानिसले अमेरिकाका ४० भन्दा धेरै सहरमा प्रदर्शन गरिरहेका छन् । करोडौंको क्षति भइसकेको छ । अझै पनि स्थिति साम्य भएको छैन ।

प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस अगाडी पनि प्रदर्शन गरेका छन् । उनीहरुले ह्वाइट हाउस नजिकको संरचनामा आगजनी गरेपछि ह्वाइट हाउस वरपरको क्षेत्र नै हिंसात्मक बनेको छ । जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षा निकायले बंकरमा लगेर लुकाएको छ । विश्वलाई बंकरमा लुकाउन बाध्य बनाउने ट्रम्प आफैं ब‌ंकर छिरेका छन् ।

सञ्चारमाध्यमका अनुसार अमेरिकामा यस्तो घटना ५२ वर्षपछि कै पहिलो पटक हो । सन् १९६८ मा अस्वेत अधिकारकर्मी तथा मन्त्री मार्टिन लुथर किंङको हत्याको विरोधमा यस्तै प्रदर्शन भएको थियो । यद्यपी अस्वेतमाथि प्रहरीको ज्यादती यसबीचमा पनि भइ नै रहे ।
यसअघि माइकल ब्राउन, इरिक गार्नर हत्या प्रकरणले पनि अमेरिकामा काला जातीको जिउने अधिकारको आन्दोलन चल्दै आएका थिए ।

तर, जर्ज हत्या प्रकरणले कोरोना भाइरसको चरम संक्रमणकाबीच पनि भयावह स्थिती सिर्जना गरेको छ । कोरोनाको गम्भीर संक्रमण रहेको अमेरिकामा भएको यो पछिल्लो घटनाले विश्वको ध्यान तानिएको छ । करिब ४० वटा ठूला सहरमा कर्फ्यू जारी गरिएको छ । तर, प्रदर्शनकारी कर्फ्यु तोडेर सडकमा उत्रिएका छन् । न्यूयोर्क, सिकागो, फिलाडेल्फिया र लस एन्जलसमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सयौं सेल अश्रु ग्यास र रबरका गोली चलाइएको छ । प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाइदिएका छन् ।

स्थिती नियन्त्रणमा लिनका लागि अमेरिकाले दंगा प्रहरी खटाएको छ । १५ वटा राज्यमा पाँच हजारभन्दा बढी दंगा प्रहरी परिचालन गरिएका छन् ।

कोलोराडोको डेनभरमा हजारौं संख्यामा प्रदर्शनकारीले हात पछाडी राखेर मलाई सास फेर्न गाह्रो भएको छ भन्दै नारा लगाएका छन् । एटलान्टा, बोस्टन, मायामी र ओक्लोहोमामा पनि हजारौं संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

प्रदर्शनकारीहरुले तोडफोडसँगै पसलहरु पनि लुटेको भिडियो सार्वजनिक भएको छ ।
लुटमा संलग्न र निषेधाज्ञा तोडेको भन्दै प्रहरीले अहिलेसम्म ४१ सय प्रदर्शनकारीलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *