विदेश

भारतमा संक्रमित र मृतक बढे पनि लकडाउन खुकुलो पारियो

हिमालय टिभी
२०७७ जेठ १९ गते १३:३०
भारतमा संक्रमित र मृतक बढे पनि लकडाउन खुकुलो पारियो

१९ जेठ, २०७७, नयाँ दिल्ली । भारतमा आजदेखि लकडाउन केही खुकुलो भएको छ ।

कोरोनाबाट मृतक र संक्रमित हुने संख्या कम नभए पनि ६८ दिनदेखि जारी लकडाउन आजदेखि केही खुकुलो भएको हो। त्यहाँ सबै गतिविधि चरणबद्ध रुपमा खुला गर्दै लकडाउन क्रमश खुकुलो पार्दै हटाउने निर्णय गरिएको छ ।

यद्यपि बिहान ५ देखि राति ९ बजेसम्म मात्र आवतजावत तथा अन्य गतिविधि गर्न पाइनेछ । लकडाउन खुकुलो बनाउँदै लैजाने क्रममा पहिलो चरणलाई अनलक एक नाम दिइएको छ ।

आजदेखि इ पास र पूर्व स्वीकृति नलिइ एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइनेछ । यस्तै पहिलो चरणअन्तर्गत एक सातापछि धार्मिकस्थल, होटल, रेष्टुरेन्ट तथा सपिङ मल खोल्ने अनुमति दिइने छ ।

दोस्रो चरणमा स्कुल कलेजलगायत शिक्षण तथा प्रशिक्षण संस्था खुल्ने छन् । त्यसपछि तेस्रो चरणमा विभिन्न परिस्थितिको विश्लेषण पश्चात अन्तर्राष्ट्रिय विमान सेवा, मेट्रो, सिनेमा हल, जिम, स्विमिङ् पुल तथा मनोरञ्जल स्थल खोल्न पाइने छ ।

अब सार्वजनिकस्थल, यातायात तथा कार्यस्थलमा मास्क अनिवार्य लगाउनु पर्नेछ । उता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीसँगको सबै सीमा एक साता सिल गर्ने निर्णय गरेका छन् ।

भारतमा लगातार तेस्रो दिन पनि २ सय भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय २३ जनाको मृत्यु भएको छ । यसअघि शनिबार २ सय ५ तथा शुक्रबार २ सय ६९ जनाको मृत्यु भएको थियो । यस्तै तीन दिनदेखि दैनिक संक्रमित हुनेको संख्या समेत आठ हजारमाथि रहेको छ ।

हिजो ८ हजार ७ सय ८२ नयाँ संक्रमित फेला परेका थिए । १ लाख ९० हजार ६ सय ९ जना संक्रमितसँगै भारत विश्वमा संक्रमित हुने सूचिको सातौ स्थानमा रहेको छ । त्यस्तै मृतक संख्या ५ हजार ४ सय ८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *