विदेश

अमेरिकामा कोरोनाबाट मृत्यु हुने एक लाख नाघे, १७ लाख बढी संक्रमित

हिमालय टिभी
२०७७ जेठ १४ गते १२:४६
अमेरिकामा कोरोनाबाट मृत्यु हुने एक लाख नाघे, १७ लाख बढी संक्रमित

न्युयोर्क । नोबेल कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ ।

एकैदिन थप ७ सय ७४ जनाले ज्यान गुमाएसँगै अमेरिकामा मृतक संख्या १ लाख ५ सय ७२ पुगेको हो । मृत्यु हुनेको संख्या १ लाख नाघेपनि पछिल्लो केही दिनयता दैनिक मृत्युदर भने कम रहेको छ । अघिल्लो दिन त्यहाँ ५ सय ५ जनाको मृत्यु भएको थियो ।

पछिल्लो पटक न्यूयोर्कमा सबैभन्दा बढी १ सय ३४ जनाको मृत्यु भएको छ । १९ हजार भन्दा बढीमा संक्रमण पुष्टिपछि संक्रमितको संख्या १७ लाख २५ हजार ४ सय भन्दा बढी पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ७९ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४४ हजार ७ सय भन्दा बढी मध्ये १७ हजार १ सय ५८ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाबाट पछिल्लो पटक सबैभन्दा बढी मृत्यु हुने संख्या ब्राजिलमा रहेको छ । संक्रमणको पछिल्लो इपिसेन्टर ब्राजिलमा हिजो १ हजार २७ जनाले ज्यान गुमाए । त्यहाँ आज थप ४४ जनाको मृत्यु भएको छ । संक्रमितका आधारमा दोस्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ९४ हजार ५ सय भन्दा बढी संक्रमित छन् भने मृत्यु हुने २४ हजार ५ सय ९३ रहेका छन् ।

कोभिड नाइन्टिनका कारण विश्वभर ३ लाख ५२ हजार २ सय २७ जनाको मृत्यु भैसकेको छ भने संक्रमित हुनेको संख्या ५६ लाख ८६ हजार २ सय नाघेको छ । त्यस्तै २४ लाख ३० हजार ७ सय भन्दा बढी निको भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *