प्रदेश ५ मा सलहः बास बस्दै, बाली खाँदै, उड्दै

१७ असार, २०७७, बुटवल । भारतबाट रुपन्देही, कपिलवस्तुलगायत सिमावर्ती जिल्ला हुँदै छिरेका सलह कीरा प्रदेश ५ का विभिन्न जिल्लाका गाउँगाउँसम्म पुगेका छन् । ती कीरा बास बस्दै, बाली खाँदै, उड्दै गरिरहेका छन् ।
शनिबार बुटवलको आकाशमा हुलका हुल देखिएका सलह मङ्गलबार गुल्मी, अर्घाखाँची, पाल्पा, बाँके, बर्दिया, प्यूठान, दाङलगायत जिल्लाहरूमा प्रशस्त देखिएका छन् ।
सलहले आतङ्कित किसान र स्थानीय सलह भगाउन जाग्राम बस्दै थाल ठटाउने, चर्को आवाजमा कराउने, गीत बजाउने, आगो बालेर धुवाँ निकाल्नेलगायत उपायहरू अपनाइरहेका छन् । प्रदेश पाँचका विभिन्न जिल्लामा भित्रिएको सलहले बाँकेको खजुरा, बर्दियाको गेरुवामा पनि बाली नष्ट गरेको छ ।
बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ बगहीपुर र जनकनगरमा हजारौँको सङ्ख्यामा देखिएको वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो ।
बगहीपुरको खेतमा हजारौँको सङ्ख्यामा सलह देखिएपछि स्थानीय किसानले मादल र थाल बजाएर भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्दै मारेको अध्यक्ष वैद्यले बताउनुभयो ।
गुल्मीका सबै स्थानीय तहमा सलह पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले किसानहरूलाई सचेत गराइएको र सलहलाई बालीहरूमा बस्न नदिनका लागि विभिन्न उपायहरू अपनाइएको जानकारी दिनुभयो ।
पाल्पाका विभिन्न स्थानमा सलहको झुण्ड निरन्तर घुमिरहेको छ । प्यूठानमा पनि सलह भित्रिएको छ । प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया