भोकले मरिनेभो बन्दै ट्याक्सी व्यवसायी उत्रिए सडक आन्दोलनमा (भिडियोसहित)

१६ असार, २०७७ काठमाडौं । लकडाउनका कारण ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी व्यवसायीले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेका थिए । तर माग सम्बोधन नभएपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन शुरु गर्यो । तीन महिनापछि पछि मोडालिडी फेरिएर लुजडाउन भयो । निजी गाडी र मोटरसाइकल जोरबिजोर अनुसार चल्न थाले । अनि ट्याक्सी व्यवसायी र मजदुरले पनि हामीलाइ पनि चलाउन देउ भनेर माग गरे । तर सरकारले सुनेन । अनि उनीहरु र सडकमै उत्रिए ।
अहिले लकडाउन सार्वजनिक यातायातलाई मात्र लागेको छ । सवारीसाधन हुने व्यक्ति निर्वाध हिँडिरहेका छन् । सरकारलाई व्यवसायीको प्रश्न छ(रातो प्लेटको सवारी साधनले कोरोना नसार्ने कालो प्लेटको सवारीले सार्ने हुन्छ रु
सुरक्षाका उपाय अपनाएर उपत्यकाभित्र कुदाउन पाऊँ भनेर ट्याक्सी व्यवसायीले सरकारलाई ज्ञापन पत्र पनि बुझाए । माग सरकारले सुनेन, बैंकले सुन्ने कुरै भएन । परिणाम ट्याक्सी नै लिलाम हुने अवस्था आएको छ ।
ट्याक्सी चलाउन पाउनु पर्यो भन्ने माग गर्दा उनीहरुले आफ्नो आर्थिक दुरावस्थालाई मात्रै होईन, प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई पनि अघि सारेका छन । उनीहरुका अनुसार प्रधानमन्त्रीले कोरोना ठूलो रोग नभएको भनेकोले मजदुर र व्यवसायीलाई बन्दी बनाउनुको औचित्य छैन ।
कर पनि मिनाहा भएन र बैंकको किस्ता बुझाउने म्याद पनि थपिएन यसले ठूलो मारमा परियो भन्ने उनीहरुको गुनासो छ । छाक टार्न पनि समस्या भएकोले माग सम्बोधन नभए ट्याक्सीको चाबी यातायात व्यवस्था विभागलाई बुझाउने व्यवसायीको चेतावनी छ ।
रोगले भन्दा भोकले मर्ने पीरले आन्दोलनमा उत्रिएका व्यवसायी र मजदुरको मागमा सरकारले उचित तवरले सम्बोधन गर्नु आवश्यक छ ।
प्रतिक्रिया