लकडाउन खुकुलो भएसँगै आजदेखि सवारीसाधनमा जोरविजोर प्रणाली लागू

३० जेठ, २०७७ काठमाडौं । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै आजदेखि निजी सवारी साधानमा जोरविजोर प्रणाली लागू भएको छ ।
जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज जोर नम्बर प्लेटका नीजि सवारी साधान चलाउन पाइने छ । तर एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाइने छैन ।
उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिएको छ । यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालका अनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जनासम्म सवार हुन सक्नेछन् । मोटरसाइकल, स्कुटरमा भने चालक मात्र हुनु पर्नेछ ।
सार्वजनिक यातायात अर्थात कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन ।
प्रतिक्रिया