अन्धविश्वासको पराकाष्ठाः कोरोना भगाउन भन्दै कोरोना माईको पुजापाठ !

१९ जेठ, २०७७, पर्सा । कोरोनाको महामारी यतिबेला विश्वभर फैलिएको छ । कोरोनाले लाखौंको ज्यान लिइरहेको छ । अहिलेसम्म कुनै औषधि फेला नपरेको कोरोना विश्वकै टाउको दुखाईको विषय बनेको छ । तर, नेपालको बारा र पर्साका विभिन्न स्थानमा भने कोरोना भगाउन भन्दै पुजाआजा गर्न शुरु भएको छ ।
कोरोना भगाउन भन्दै पर्सा र बाराका गाउँ–गाउँमा महिलाहरुले कोरोना माईको पुजाआजा शुरु गरेका हुन् । धार्मिक अन्ध विश्वासका कारण कोरोना भगाउन महिलाहरुले कोरोना माईको पुजाआजा शुरु गरेको स्थानीयले बताएका छन् ।
कोरोना माईको पुजाआजा गर्दै गरेकी वीरगञ्ज महानगरपालिका–१० की स्थानीय मिरा देवीले भनिन् “कोरोना माईको पुजा गर्दैछु, हे कोरोना माई सबैलाई राम्रोसँग राख र जाऊ तिमी, कतै पनि क्षति नगरदेउ ।”
अन्य देवीदेवताको जस्तै, महिलााहरुले हप्ताको दुई दिन कोरोना माईको नाममा ब्रत बस्ने र कोरोना माईलाई खुशी पार्न पुजापाठ गर्न थालेका हुन् । कोरोना भगाउन भन्दै महिलाहरु सोमबार र शुक्रबार ब्रत बस्न थालेका छन् ।
कोरोनाको पूजाआजा मात्र होइन, स्थानीयले किम्वदन्तीसमेत बनाएका छन् । ब्रत बसेकी वीरगन्ज १५ लक्ष्मणवाकी उर्मला देवीका अनुसार कुनै देशमा एक महिला घाँस काट्न पुगेपछि त्यहाँ खेतमा घाँस चर्दै गरेको नौ वटा गाई मध्ये एक गाई मान्छेमा परिणत भएपछि त्यहाँ गएका मान्छेहरु भागभाग गर्न थाले । त्यो देखेर उक्त मानवरुपी गाईले भनिछन्– म कोरोना माई हो । एकपटक ठूलो आँधी आएपछि म पनि जान्छु । नडराउनु मेरो पुजा गर्नु, केही हुँदैन । पुजामा नौ वटा लड्डु, नोवटा ईलाइची, ल्वाङ्ग र फूल चढाई ढोग्नु । त्यसपछि म जान्छु ।
पुरुषोत्तम दुवे नेपाल ज्योतिष परिषदको उप–महासचिवले भने–आज जेष्ठको दशमी तिथिमा माँ गंगाको पुजा गरिन्छ । तर यो आज भएको कोरोना माईको पुजा अफवाह भएको हो । यसमा तथ्य नभएको भन्दै उनले भने–ईश्वरमाथि आस्था राखेर प्रार्थना गर्ने कुरा बेग्लै हो । तर कोरोना माई जस्ता नाम दिएर हिन्दु धर्ममाथि प्रहार गर्ने केही व्यक्तिहरुको चलखेल रहेको छ ।
अहिले पर्सा र बाराका गाउँ–गाउँ र टोल–टोलमा यो लहर चलेको छ । केही समय पहिला भारतको बिहारमा कोरोना भगाउन पुजापाठ गर्दै गरेको एक भिडियो भाइरल भए पश्चात यहाँ त्यसको प्रभाव देखिएको एक स्थानीयले बताए ।
कोरोना कुनै दैवीशक्ति नभएर भाइरस हो । यसको पूजा होइन, यसबाट टाढा रहन सामाजिक दूरी जरुरी रहेको र कुनै औषधि वा भ्याक्सिन नबन्दासम्म जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक रहेको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया