छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने राजपाको प्रयास असफल

१६ जेठ, २०७७, काठमाडौं । संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गर्ने राष्ट्रिय जनता पार्टीको प्रयास असफल भएको छ ।
गैरसरकारी विधेयक दर्ता गर्न राजपाका नेताहरु संसद सचिवालय पुगेपनि संसद सचिवालयले दर्ता गर्न मानेन ।
गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुर , महिन्द्रराय यादव, लक्ष्मणलाल कर्ण लगायत संसद सचिवालय पुग्नुभएको थियो । मधेशका माग पनि नयाँ नक्सा सम्बन्धी संविधान संशोधन सम्बन्धी प्रस्तावसँगै पारित गरेर जानुपर्ने राजपाको माग छ । आप्नो संशोधन प्रस्ताव दर्ता नभएकोमा राजपा नेता महन्थ ठाकुरले आक्रोश व्यक्त गर्नुभयो ।
दर्ता गर्न चाहेको संविधान संशोधन विधेयकमा भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सीमांकन र राष्ट्रिय सभामा प्रतिनिधि छान्ने विषय समावेश छन । सरकारले नयाँ नक्साअनुसार नेपालको निशान छाप संशोधन गर्नका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । र, त्यसमा आफ्ना माग पनि सम्बोधन हुनुपर्ने राजपाको माग छ ।
राजपा नेताहरूले लामो समय संसद सचिवालयका कर्मचारीहरूसँग छलफल गरे पनि विधेयक दर्ता भएन। संसद सचिवालयले विधेयक दर्ता नहुनुको कारण खुलाएको छैन। दर्ता नभएपछि राजपा नेताहरुले दर्ता गर्न चाहेको विधेयकको प्रति संसद सचिवालयमा छोडेर गएका छन । संसद सचिवालयले यसमा थप अध्ययन गर्ने बताएको छ ।
राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपनि संसदीय अभ्यासमा दुवैले पुरानै हैसियतमा सक्रिय छन । र, आज संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा समाजवादीका नेताहरुसँग छलफल नभएको बताइएको छ ।
प्रतिक्रिया