निर्वाचन आयोगको निर्णयः ओली पक्ष उत्साहित प्रचण्ड-नेपाल सशंकित (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले हिजो नेकपाको दुवै समूहले पेस गरेका विवरण अस्वीकार गर्दै विभाजनलाई औपचारिकता दिन नसकिने बताएपछि थप अन्योल देखिएको छ । आयोगको निर्णयमा ओली समूह सकारात्मक देखिएको छ भने प्रचण्ड नेपाल समूह संशकित छ ।
नेकपाका दुवै समूह आधिकारिकताका लागि अहिले रस्साकस्सीमा छन । तर निर्वाचन आयोगले दुवै पक्षले पेश गरेका विवरणलाई अस्वीकार मात्रै गरेन विभाजनलाई औपचारिकता दिन नसकिने समेत बताएको छ ।
आयोगले ओलीलाई हटाउने निर्णय पनि स्वीकार गरेन अर्थात ओली र प्रचण्ड मात्रै अध्यक्ष रहेको भन्दै माधवकुमार नेपाललाई अध्यक्ष स्वीकार गरेन । केन्द्रीय कमिटी १ हजार ५ सय १ सदस्यीय बनाउने ओली पक्षको निर्णय पनि आयोगले मानेन । तर आयोगको पछिल्लो निर्णयले आफूहरुलाई फाइदा भयो भन्ने निष्कर्षमा ओली समूह पुगेको छ ।
ओली समूहले आयोगको निर्णयलाई सकारात्मक ठान्दा प्रचण्ड नेपाल पक्ष भने संशकित छ । सिधै निर्णय गर्ने ठाउँ हुँदा पनि आयोगले लम्ब्याउन खोजेको प्रचण्ड उसको निष्कर्ष छ । आफ्नो समूहको बहुमत हुँदा पनि आयोगले किन यस्तो निर्णय गर्यो भन्ने प्रचण्ड नेपाल समूहलाई लागेको छ ।
प्रचण्ड–नेपाल समूहले आयोगको निर्णय गर्ने स्वतन्त्र हैसियतमै प्रश्न उठाएको छ । कार्यकारीका अगाडि संवैधानिक अंग लाचार भएको उसको बुझाई छ । त्यसैले अब यो विषयमा आयोगलाई प्रश्न गर्ने उसको तयारी छ ।
निर्वाचन आयोगको पछिल्लो निर्णयलाई लिएर पनि दुई समूहबीच आरोप प्रत्यारोप शुरु भइसकेको छ । र यसमा अब संवैधानिक अंग पनि विवादमा तानिने अवस्था देखिएको छ । नेकपाको आधिकारितका सम्बन्धी विवाद निर्वाचन आयोगले टुङ्गो लगाउन नसके अदालतमा जान सक्नेछ । जसका कारण बैसाखका लागि तोकिएको निर्वाचन झन अनिश्चित हुनेछ ।
प्रतिक्रिया