निर्मला प्रकरणमा सिंहदरबार जोडिएको कांग्रेस सांसद कँडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले निर्मला पन्त हत्या प्रकरणमा सिंहदरबार पनि जोडिएको गम्भीर आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा सांसद कँडेलले विगतमा नमिता, सुनिता काण्डमा दरबार जोडिएजस्तै निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा सिंहदरबार जोडिएको आरोप लगाउनुभयो ।
गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घट्ना भोलि पनि हुन सक्छन भनेकोमा कँडेलले कडा आपत्ति जनाउँदै आफ्नो अभिव्यक्तिका लागि सार्वजनिक माफी माग्न गृहमन्त्रीसँग माग गर्नुभयो ।
एक वर्ष बितिसक्दा पनि निर्मला हत्याकाण्डका दोषी पत्ता नलागेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।
निर्मला हत्याकाण्डमा सिंहदरबार जोडिएको भन्ने सांसद कँडेलको अभिव्यक्तिमा सत्तारुढ दल नेकपाकी सांसद शान्ता चौधरीले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गर्नुभयो ।
लगत्तै कांग्रेस सांसद मिनबहादुर विश्वकर्माले सांसद चौधरीले नियमापत्ति नगरेको र संसदमा एउटा सांसदले बोलेको कुराको जवाफ दिएर जुहारी गराउन नमिल्ने टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया