प्रधानमन्त्रीलाई प्रश्न – चुच्चे नक्सा खोई ? प्रमको शुभकामनाले सिर्जना गरेको विवाद (भिडियोसहित)

७ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना दिन प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रश्न उठेको छ ।
बिहान प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दशैंको शुभकामना दिँदा प्रयोग गरिएको निशान छाप पुरानो भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री ओलीमाथि प्रश्न, आशंका र आक्रोश व्यक्त गरेका हुन । उनीहरुले प्रधानमन्त्रीलाई प्रश्न छ– भन्दै प्रश्न गरिएको छस् कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा खोइ ?
शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत दशैंको शुभकामना दिनुभयो । आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डलबाट अंग्रेजी र नेपाली दुवै भाषामा शुभकामना दिँदा उहाँले नेपालको निशान छाप प्रयोग गर्नुभएको छ । तर प्रधानमन्त्री ओलीले प्रयोग गरेको निशान छापमै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गरेका छन ।
निशान छापमा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको चुच्चे नक्सा नभएको उनीहरुको तर्क छ ।
सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा निकालेको थियो । त्यसपछि तीनै क्षेत्रलाई नेपालको निशान छापमा रहेको नक्सामा राख्न संविधान पनि संशोधन गरिएको थियो । अहिले यही नक्सा प्रयोगमा छ ।
तर, प्रधानमन्त्री ओलीले नै संसदबाट पारित नक्सा प्रयोग नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता र राजनीतिक दलका नेताले विरोध जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले लिम्पियाधुरा क्षेत्र भएको नक्सा प्रयोग नगर्नुलाई त्रुटि मान्न नसकिने प्रतिक्रिया दिनुभएको छ । ।
शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्वीटरमा लेख्नुभएको छ–लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ? गम्भीर विमति दर्ज होस् ।’
त्यति मात्रै होइन, कालापानी क्षेत्र फिर्ता गर्ने भनेर प्रधानमन्त्री ओलीले गर्दै आएको भाषणतर्फ लक्षित गर्दै शर्माले ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ? भनेर प्रश्नसहित प्रधानमन्त्रीमाथि कटाक्ष गर्नुभएको छ ।
प्रधानमन्त्रीको ओलीको दशैं सन्देश ठीक त्यतिबेला विवादमा आएको छ, जतिबेला भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई लिएर निकै गम्भीर प्रश्नहरु उठेका छन् ।
कतिपयले गोयलसँगको भेटपछि चुच्चे नक्सा गायब भएको टिप्पणी गरेका छन् । अर्थात प्रधानमन्त्रीको राष्टवादी छविमाथि गम्भीर प्रश्न गरिएको छ । यस्तो आशंका गर्नेमा नेकपाकै नेता एवं संविधानसभा सदस्य खिमलाल देवकोटा पनि हुनुहुन्छ ।
प्रयोगकर्ताले भने ओलीलाई नक्सा सच्याउन आग्रह गरेका छन्। केही समर्थकले त्यहाँ नयाँ नक्सानै प्रयोग गरिएको र सानो भएकाले नदेखिएको भने पनि प्रधानमन्त्री ओलीका तर्फबाट यसबारे केही बोलिएको छैन । प्रधानमन्त्रीले प्रयोग गरेको निशान छापमा नयाँ चुच्चे नक्सा देखिन्नँ ।
त्यसैले पनि प्रश्न उठेको हुन सक्छ, त्यसैले सानो भएकाले भ्रम सिर्जना भएको हो भने त्यस्तो नहुने गरी आगामी दिन त्यसलाई ठूलो बनाइनुपर्छ, भुलवश भएको हो भने त्यसलाई सच्याइनुपर्छ भन्ने नागरिकको आवाज सुनिनुपर्छ ।
प्रतिक्रिया