प्रदेश ५ को प्रदेशसभा बैठकमा कांग्रेस सांसदले गरे टेबुल-कुर्सी तोडफोड

१९ असोज, २०७७, काठमाडौं । विवाद, विरोध र तोडफोडका बीच प्रदेश ५ को सभामा नाम र राजधानी सम्बन्धी प्रस्तावमा छलफल भएको छ ।
सत्तारुढ नेकपाकै सांसदको असन्तुष्टि र कांग्रेसको अवरोधका बीच सभामुख पूर्णबहादुर खड्काले सदनमा छलफल गराउनुभएको हो ।
छलफल आजै सकेर १८ घण्टा भित्र संशोधन प्रस्ताव दर्ता गर्न समय दिइएको छ । छलफलमा बोल्दै नेकपाका सांसद भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थीले दाङ राजधानी बनाउने प्रस्तावको विरोध गर्नुभएको छ ।
श्रेष्ठले बुटवल र पन्थीले कपिलवस्तु राजधानी बनाउन माग गर्नुभएको छ । सांसद श्रेष्ठले सभामुखले बोल्न आफूले चाहेको समय बोल्न नदिएको भन्दै सभामुखको चर्को विरोध समेत गर्नुभयो ।
नेकपामा विवाद भएपनि प्रदेशको राजधानीका विषयमा अर्को विपक्षी दल जनता समाजवादी पार्टीले भने समर्थन गरेको छ ।
भालुबाङ राजधानी बनाउने प्रस्ताव ठीक भएको जनता समाजवादी पार्टीका सांसद विजय यादवले बताउनुभयो । तर नाममा भने पार्टीले असहमति जनाएको छ । समाजवादीले प्रदेश ५ को नाम लुम्बिनीको सट्टा थरुहट, अवध, मगरात राख्न माग गरेको छ ।
यसैबीच प्रदेश ५ सरकारले पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले प्रदेश सभामा तोडफोड गरेको छ ।
आफ्नो विरोध र असहमतिका बीच सभामुख पूर्णबहादुर घर्तिले छलफल अघि बढाएपछि कांग्रेस सांसदले कुर्सी, टेबुल र माईक तोडफोड गरेका हुन ।
एक बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । तर मुख्यमन्त्रीसँगै दलहरुबीचको छलफलमा सहमति हुन नसकेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।
तर, सभामुखले बैठकलाई निरन्तरता दिएर प्रदेशको राजधानी र नाममा छलफलल अघि बढाएपछि पछि कांग्रेसले तोडफोड गरेको हो ।
प्रतिक्रिया