समयमा ब्याज तिर्न नसक्दा साहुले गोठको भैसी लगे (भिडियोसहित)

२८ भदौ, २०७७, महोत्तरी । साहुसँग ऋण लिएका महोत्तरीका एक परिवारमाथि ब्याज नतिरेको भन्दै कुटपिट भएको छ । कुटपिट गर्नेलाई कारबाही हुन नदिन गाउँमै मिलापत्र गराइएको छ । प्रहरी भने उजुरी नआएको भन्दै मुकदर्शक बनेको छ ।
महोत्तरीको औरही नगरपालिका वडा नम्वर १ का गुदरी मण्डलले गाउँकै साहु विजय चौधरीसँग ऋण लिनु भएको थियो । ३ वर्षअघि २ पटकमा गरेर डेढ लाख रुपैयाँ ऋण लिएका गुदरीले त्यतिबेलादेखि नै हप्ताको २ हजार रुपैयाँ साहुलाई ब्याज बुझाउनुभयो ।
र, उहाँले अहिलेसम्म १ लाख १० हजार रुपैयाँ ब्याज विजयलाई तिरिसक्नु भएको छ । तर पछिल्लो पटक लकडाउन र निषेधाज्ञाका कारण हप्ताको दुई हजार तिर्न नसकेपछि विजयको परिवारले गुदरीको घरकै भैसी फुकाउन आयो । गुदरीकी श्रीमती पासोदेवीले भैसी लैजान रोक्न खोज्नु भयो । उहाँमाथि कुटपिट भयो । लेनदेनको मामिला थियो त्यसैले गाउँले रमिते बने । कोही पनि छुट्याउन गएनन् ।
त्यसपछि गुदरीले प्रहरीमा मौखिक उजुरी दिनुभयो । त्यसपछि गाउँलेले घटना गाउँमै मिलाउने भनेर दबाव दिए । भद्रभलादमी भनिनेको भेलाले गुदरीको भैसी साहु विजयलाई दिने र डेढ लाख रुपैयाँ ऋणको कागजात च्यात्ने निर्णय गरेर सही छाप गरायो । जुन कुरा गुदरीले सही छाप गरेपछि मात्र थाहा पाउनुभयो ।
गाउँमै एउटा गरिब परिवारमाथि अन्याय भएको जानकारी प्रहरीलाई पनि छ । लिखित उजुरी नआएकाले कारबाही अघि बढाउन नसकेको प्रहरीको दाबी छ । कानूनले तोकेभन्दा बढी ब्याज लिएको प्रमाणसहित आए कारबाही प्रक्रिया अघि बढाउन प्रहरी तयार छ ।
तराई मधेसका क्षेत्रमा मिटर ब्याज लगाउनेबाट गरिब नागरिक कसरी ठगिन्छन् भन्ने यो एउटा उदाहरण मात्र हो । यसअघि पनि केही घटना सार्वजनिक भएका थिए । तर शोषणमा पर्ने गरिब परिवार हुने भएकाले धेरैको पीडा गाउँबाट बाहिर आउन सकेको छैन ।
प्रतिक्रिया