बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
काठमाडौं : भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । पाटेकरको गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण आज बिहान निधन भएको बताइएको छ ।
डोना पाउलास्थित आफ्नै घरमा पाटेकर बेहोस अवस्थामा भेटिएको र उपचारका लागि तुरुन्तै अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । पाटेकरको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, महाराष्ट्रका मुख्यमन्त्री, तथा बलिउडका प्रमुख कलाकारले श्रद्धाञ्जली दिएका छन् ।
पाटेकरको राजकीय सम्मानका साथ उनकै फार्म हाउसमा अन्तिम संस्कार गरिँदैछ । बलिउडमा छुट्टै छाप छाड्न सफल नानाको जीवन यात्रा संघर्ष, सफलता र विवादले घेरिएको छ । हेरौँ यो अबिच्युअरी ।
पर्दामा संवादको बिजुली चम्काउने र वास्तविक जीवनमा सादगीको माटो ओढ्ने बलिउडको एउटा भीमकाय नाम- नाना पाटेकर। सिनेमाको उज्यालो र जीवनको अँध्यारोबीचको दूरी उनले जति नजिकबाट नापे, सायदै अरू कसैले नापेका होलान् । १३ वर्षको कलिलो उमेरमा मुम्बईका सडकमा चलचित्रका पोस्टरमा रङ्ग भर्दै महिनाको ३५ रुपैयाँका लागि पसिना बगाउने त्यो ठिटो, पछि गएर भारतीय सिनेमाको एउटा सिङ्गो युगको ‘परिभाषा’ बन्ला भनेर कसैले सोचेको थिएन ।
नाना कुनै मानक नायक थिएनन् । न उनीसँग चकलेटी अनुहार थियो, न कुनै फिल्मी घरानाको विरासत । उनीसँग थियो त केवल- एउटा खरो स्वर, आँखामा अनौठो आक्रोश र अभिनयको नाममा मुटुको ढुकढुकी पस्कने क्षमता ।
सङ्घर्ष र सफलताको आँधी
गरीबी, बुबाको असमयमै निधन र पहिलो सन्तानको वियोगले उनलाई भित्रैदेखि भत्काएको थियो । तर यही पीडा नै पछि उनको अभिनयको इन्धन बन्यो । अझ भन्दा उनले अभिनय गरेनन्, बरु पात्रलाई आफूभित्र जिउन दिए । तीन पटकको राष्ट्रिय पुरस्कार र ‘पद्मश्री’ उनको प्रतिभाका साक्षी बने।
अंकुश’ को बेरोजगार युवाको आक्रोश र ‘परिन्दा’ को सन्की ग्याङ्स्टर बनेर राष्ट्रिय पुरस्कार जितेका नानाले चलचित्रको पर्दामा एउटा नयाँ इतिहास लेखे ।
आफैँले निर्देशन गरेको ‘प्रहार’ मा मेजर चौहान बनेर कडा सैन्य अनुशासन देखाएका उनले ‘तिरङ्गा’ मा राजकुमारसँगै “न कलम झुकती है, न सिर झुकता है” भन्दै ‘इन्स्पेक्टर शिवजीराव वाग्ले’ को भूमिकामा हललाई सिट्टी बजाउन बाध्य पारे। त्यसपछि आयो ‘क्रान्तिवीर’, जहाँ उनको “ये हिन्दु का खून है, ये मुसलमान का खून है, बताओ इसमें कौन सा हिन्दु का है ? भन्ने कालजयी संवादले सिनेमा हलका भित्ता मात्र होइन दर्शकको चेतना नै हल्लाइदियो । त्यसैबाट उनलाई सर्वोत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार मिल्यो । उनको प्रतिभा केवल देशभक्ति वा आक्रोशमै सीमित रहेन। ‘अग्निसाक्षी’ मा शङ्कालु पतिको डरलाग्दो रूप, ‘खामोशी’ मा बोल्न र सुन्न नसक्ने भावुक बुबाको अभिनय, अनि ‘अब तक छप्पन’ मा ‘इन्काउन्टर स्पेसलिस्ट’ साधु अगशेको शान्त तर कडा भूमिकाले उनको बहुआयामिकता प्रमाणित गर्यो । उमेरको उत्तरार्धमा ‘वेलकम’ को ‘उदय भाइ’ बनेर हँसाउने होस् या मराठी चलचित्र ‘नटसम्राट’ मा एक कलाकारको दुःखी जीवन जीवन्त पार्ने काम- उनले हरेक पात्रलाई आफूभित्र जिउन दिए ।
नानाको दायरा बलिउडका चम्किला लाइटहरूमै मात्र सीमित रहेन । कारगिल युद्धका बेला अभिनय छाडेर सीमामा बन्दुक समात्न पुग्ने देशभक्ति होस् वा खडेरीले पिल्सिएका महाराष्ट्रका किसानका आँसु पुछ्न ‘नाम फाउन्डेसन’ खोलेर आफ्नै कमाइ सुम्पिने विशाल हृदय-उनी साँचो अर्थमा माटोका मान्छे बन्न खोजे ।
विवाद र विरोधाभासको छायाँ
उनी जति अग्ला थिए, उनका छायाँहरू पनि उत्तिकै काला र विवादित रहे । उनी कहिल्यै ‘सजिला मान्छे’ बनेनन् । निर्देशकहरूसँगको खटपट, सेटभित्रको अडान, अनि पाकिस्तानी कलाकारमाथि ‘खटिरा’ को उपमा दिँदै बोलेका खस्रा शब्दहरूले उनलाई पटक-पटक विवादको घेरामा ताने । सबैभन्दा ठूलो धक्का तब लाग्यो, जब #MeToo को आँधीले उनीमाथि यौन उत्पीडनको आरोपको कालो छिटा फ्याँक्यो । कानुनी रूपमा ‘क्लीन चिट’ पाए पनि र पछि फ्यानलाई हानेको झापड काण्डले माफी मागे पनि, उनका अन्तिम वर्षहरू विवादको धमिलो छायाँबाट पूर्णतः मुक्त हुन सकेनन् ।
एउटा युगको अन्त्य
नाना पाटेकर- जसको जीवन प्रेम र विवाहको अलग-अलग बाटोमा हिँड्यो, विभिन्न अभिनेत्रीसँगको गहिरो सम्बन्धमा नाम जोडियो, तर उनले जीवनभर आफ्नै सर्तमा सास फेरे । उनी न पूर्ण साधु थिए, न त केवल एक अभिनेता । उनी त एक जटिल, विद्रोही र अपूर्ण मानिस थिए, जसले आफ्नो हरेक भुल र हरेक गुणलाई नढाकी बाँचिदिए । आज पर्दा सुनसान छ, रङ्गहरू फिक्का भएका छन् । तर जब-जब भारतीय सिनेमामा खरोपन, स्वाभिमान र जीवन्त अभिनयको चर्चा हुनेछ, तब-तब नानाको त्यो तीक्ष्ण आवाज गुञ्जिरहनेछ ।

प्रतिक्रिया