कांग्रेस महाधिवेशन लम्बियो, शुक्रबार नेतृत्व छान्न मतदान
काठमाडौं : एकातिर मतपत्र छपाइमा भएको प्राविधिक ढिलाइ र अर्कातिर शीर्ष तहमा पदाधिकारी तथा कार्यसमितिमा सहमतिको अन्तिम प्रयास हुनुले मतदान समय धकेलिएको छ ।
आखिर किन भोलिका लागि सर्यो त मतदान ? अनि यस ढिलाइले प्रतिनिधि र महाधिवेशनमा कस्तो असर पारेको छ ?
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु गर्ने तालिका थियो । तर एकातिर शीर्ष नेताहरूबीच पदाधिकारी तथा विभिन्न पदमा सहमतिको प्रयास स्वरूप भइरहेका आन्तरिक छलफल र अर्कातिर निर्वाचन सामग्री व्यवस्थापनमा भएको ढिलाइले मतदान समय पटक-पटक सारियो ।
दिउँसो साढे २ बजेसम्म सार्दा पनि मतदान हुन नसकेपछि साँझै भए पनि मतदान थाल्न अग्रज नेताहरूबाट तीव्र दबाब परेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले सुरक्षा र अन्य व्यावहारिक चुनौती देखाउँदै रातको समयमा मतदान नगर्ने निर्णय गर्यो ।
पदाधिकारीमा सर्वसम्मत वा अधिकतम सहमतिको प्रयास लम्बिँदा र मतपत्र छपाइमा ढिलाइ हुँदा बिहीबार मतदान सम्भव भएन । १५औँ महाधिवेशनले विधान संशोधन गरी केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । महाधिवेशनमा २९७ पदका लागि करिब ८५० जना प्रत्याशी मैदानमा छन् ।
७ हजार दुई सय ५५ मतदाताका लागि विधान अनुसार पदहरूको वर्गीकरण मिलाउँदा एक जना महाधिवेशन प्रतिनिधिले कुल २३ वटा मतपत्रमा छाप लगाउनुपर्नेछ । २३ वटै मतपत्र समयमै छापेर ३२ जना वरिष्ठ अधिवक्ताहरूबाट हस्ताक्षर गराउने कार्य जटिल बनेपछि निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको नयाँ समय तय गरेको छ ।
एक त शीर्ष तहमा सहमतिको नाममा भएको ढिलाइ र अर्कोतर्फ निर्वाचन समितिको प्राविधिक कमजोरीका कारण मतदान एक दिन धकेलिँदा महाधिवेशन प्रतिनिधिहरूले ठूलो सास्ती खेप्नुपरेको छ ।
निर्वाचन ढिला हुँदा के के समस्या थपियो ?
१. भौतिक तथा आर्थिक भार:
देशभरबाट काठमाडौँ आएका ७ हजारभन्दा बढी प्रतिनिधिहरूको राजधानी बसाइ लम्बिँदा खाने, बस्ने र यात्रा व्यवस्थापनको आर्थिक भार एकाएक बढेको छ ।
२. अस्वस्थ प्रतिस्पर्धा र आचारसंहिताको धज्जी:
समय धकेलिँदा मतदानस्थल वरपर अस्वस्थ चुनावी प्रचारप्रसार र गुटगत दबाब थप बढ्ने जोखिम देखिएको छ ।
३. यात्रा र कामको तालिका अस्तव्यस्त:
महाधिवेशन लगत्तै घर फर्किने गरी गाडी वा हवाई टिकट मिलाइसकेका प्रतिनिधिहरू मतदान सरेपछि अलपत्र परेका छन् ।
४. परिणाममा ढिलाइ:
मतदान नै २४ घण्टा ढिलो सुरु हुने भएपछि मतगणना र अन्तिम नतिजा सार्वजनिक हुने समय पनि पछाडि धकेलिएको छ, जसले पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियालाई झन् गिजोल्याएको छ ।
तमाम चुनौतीका बाबजुद निर्वाचन समितिले राष्ट्रिय सभा गृह, खुलामञ्चको हिमाल हल, तराई-मधेस हल र पहाड हल गरी प्रदेश तथा समूह अनुसार मतदान केन्द्रहरू तोकिसकेको छ । मतदाता नामावली र परिचयपत्र रुजु गरेर शुक्रबार बिहान ७ बजेदेखि नै सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न गराउने दाबी निर्वाचन समितिको छ ।
बदलिएको कांग्रेसमा निर्वाचन प्रकृया भने पुरातन छ । जसले मतदाता थप हैरानीमा पर्ने छन् ।

प्रतिक्रिया