पूर्वप्रधानन्यायाधीमाथि धरपकड, मध्यरातमा घरबाटै उठाएर केरकार
काठमाडौं : चोलेन्द्र शम्शेर जबरा नेपालको न्यायिक र राजनीतिक क्षेत्रमा सधैँ चर्चामा रहने नाम हो । उहाँ विवादका पर्यायजस्तै हुनुहुन्थ्यो । जेनजी आन्दोलनलगत्तै प्रधानमन्त्री बन्न उहाँले सक्रियता बढाएको तर सफल नभएको निकटवर्तीहरू बताउँछन् । लामो समयसम्म निलम्बन र अवकाशको स्थितिमा रहेका चोलेन्द्रले पछिल्ला केही महिनायता आफ्नो बाँसबारी निवासलाई राजनीतिक र न्यायिक ‘पावर सेन्टर’ का रूपमा सक्रिय बनाउनु भएको थियो ।
न्यायिक सक्रियता : सर्वोच्च र विशेष अदालतमा विचाराधीन उच्च राजनीतिक तथा वित्तीय पहुँच भएका हाई-प्रोफाइल मुद्दाहरूमा बिचौलियाको भूमिका खेल्दै आफ्ना अनुकूलका मानिससँग नियमित बैठक गर्ने गरेको उहाँमाथि आरोप लाग्ने गरेको छ ।
राजनीतिक महत्वाकांक्षा: पछिल्लो समयमा मुलुकमा विकसित नयाँ राजनीतिक ध्रुवीकरण र असन्तोषको फाइदा उठाउँदै पृष्ठभूमिबाट नयाँ राजनीतिक कार्ड खेल्ने योजनामा उहाँ लागेको सरकारी सुत्रहरूको दाबी छ ।
सरकारको समीकरण बदल्ने प्रयास गरेको आरोप
प्रहरीले चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको नभइ सुरक्षा दिएको दाबी गरेको छ । यद्यपि, प्रहरी कार्यालयमा उहाँसँग घन्टौँ केरकार गरिएको छ । सुरक्षा निकायको दाबी अनुसार चोलेन्द्रले पछिल्ला हप्ताहरूमा मुख्यतः तीनवटा समूहसँग निरन्तर संवाद बढाउनु भएको थियो ।
– सत्ता समीकरणबाट बाहिरिएका, जेनजी आन्दोलनमा सक्रिय भएका तर अहिलेको सरकारको कटु आलोचक रहेका तथा वर्तमान सरकारप्रति आक्रामक रहेका विभिन्न क्षेत्रका नेताहरूसँग उहाँले लगातार छलफल चलाइरहेको बताइएको छ ।
– यस्तै केही काण्ड र ठूला भ्रष्टाचारका केसमा तानिएका बिचौलिया तथा राजनीतिक शक्तिसँग मुद्दा सल्टाउने र सट्टामा राजनीतिक सहयोग लिने सहमति भइरहेको दाबी पनि गरिएको छ ।
– विशेष अदालतका न्यायाधीशहरूले आफूहरूमाथि काम गर्ने वातावरण नरहेको र अनुचित दबाब आएको भन्दै सर्वोच्चको नेतृत्वलाई गुनासो गरेपछि सरकार एक्सनमा उत्रिएको दाबीसमेत गरिएको छ ।
चोलेन्द्रको योजना र सरकारको एक्सन !
चोलेन्द्र कुनै एउटा दलका मात्रै मान्छे नभएको नजिकबाट चिन्नेहरू बताउँछन् । उहाँ परिस्थितिअनुसार ‘जसको पल्ला भारी हुन्छ, उसैलाई प्रयोग गर्ने’ वा आफू अनुकूल शक्ति समीकरण बनाउने माहिर खेलाडी हुनुहुन्छ ।
असन्तुष्ट रहेका शक्तिहरूलाई एउटै मञ्चमा ल्याएर न्यायालय र राजनीति दुवैतिरबाट वर्तमान सरकारलाई घेराबन्दीमा पार्ने र कमजोर बनाउने मिसनमा उहाँ प्रयोग भइरहेको प्रधानमन्त्रीका निकटवर्तीहरूको दाबी छ ।
सामान्यतया पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नु न्यायिक दृष्टिले निकै संवेदनशील मानिन्छ । तर, सरकार हतार-हतार यो तहमा किन ओर्लियो भन्ने अहिले प्रश्न उठेको छ । यसमा बाहिर स्पष्ट केही खुलाईएको छैन । तर, सरकार पक्षको दाबी मान्ने हो भने चोलेन्द्रले पछिल्लो पटक न्यायिक क्षेत्रमा सोझै हस्तक्षेप गरिरहनु भएको थियो । विशेष अदालतका न्यायाधीशहरूले नै ‘हामीलाई काम गर्न गाह्रो भयो’ भनेर शीर्ष नेतृत्वसम्म गुनासो पुर्याएपछि प्रहरी प्रशासन तातिनु परेको दाबी गरिएको छ ।
यस्तै भित्रभित्रै सरकार ढाल्ने वा नयाँ राजनीतिक खिचडी पकाउने खेल चोलेन्द्रको निवासबाटै नियन्त्रण भइरहेको सुइँको जासुसी निकायहरूले पाएको समेत बताइन्छ । प्रधानमन्त्री निकटका एक नेता भन्छन् – पूर्वप्रधानन्यायाधीश भए पनि कानुन र संवैधानिक दायरा नाघेर राज्यका संवेदनशील मुद्दा प्रभावित पार्न थालेपछि सरकारले नियन्त्रणमा लिने अन्तिम विकल्प देख्यो ।
यदि सरकारी दाबी मान्ने हो भने न्यायाधीशका रूपमा ‘सेटिङ’ र राजनीतिमा ‘दाउपेच’ खेल्न सिपालु चोलेन्द्र शम्सेरको पछिल्लो कदमले राज्यको संयन्त्रलाई नै चुनौती दिएको थियो । तर, जे भनिए पनि चोलेन्द्र शमशेरमाथि लगाउने औपचारिक आरोप भने सरकारसँग देखिँदैन । कसैले घरमा मानिसहरू भेटेको र गुप्त रूपमा खेल खेलेको भन्ने आरोपमा मुद्दा अघि बढ्न सम्भव छैन । त्यसैले सरकारले अहिले चोलेन्द्रलाई पक्राउ नगरेको बरू सुरक्षा दिएको तर्क गरेको छ । घरबाट उठाएर प्रहरी कार्यालयमा केरकार गर्ने अनि सुरक्षाका लागि भनेर दाबी गर्ने प्रहरीको तर्क हाँस्यास्पद देखिन्छ । बरू चोलेन्द्रलाई मुद्दा चलाउने बलियो आधार नहुने भएकाले पक्राउ गरेर तर्साउने र केही गोप्य विषय निकाल्न सकिन्छ कि भन्ने सरकारी रणनीति देखिन्छ । यसमा प्रहरीलाई कति सफलता हात लाग्यो भन्ने विषय त चोलेन्द्र शमसेरका आगामी गतिविधिबाट स्पष्ट हुँदै जाने छ ।

प्रतिक्रिया