राष्ट्रसंघमा प्रधानमन्त्रीले जलवायुको मुद्दा जोडदार उठाउने
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्नुहुने भएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईले आज आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ । प्रधानमन्त्री शाहले महासभामा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने राईले बताउनुभयो ।
प्रधानमन्त्री शाहले जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गर्ने सचिव राईले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले प्रकृतिमैत्री जीवन शैली, ४६ प्रतिशतभन्दा बढी जंगल, विशाल हिमालय क्षेत्र, बृहत नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रबर्द्धनमा पुर्याउँदै आएको योगदानबारे पनि जानकारी गराइने बताउनुभयो ।
महासभामा नेपालले उच्चस्तरीय साइड इभेन्ट पनि आयोजना गर्ने भएको छ । विश्वव्यपी जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सिर्जित विनासकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्नु उक्त कार्यक्रमको मूल उद्देश्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल अति कम विकसित मुलुकहरू, भू–परिवेष्ठित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, जी ७० सेभन चाइनालगायतका मन्त्रिस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । महासभामा ८१ मुलुकका राष्ट्र प्रमुख र ५० मुलुकका सरकार प्रमुख सहभागी हुने छन ।

प्रतिक्रिया