खेलकूद

साविक विजेता अर्जेन्टिनाले भोलि अल्जेरियासँग पहिलो खेल खेल्दै

हिमालय टिभी
२०८३ असार २ गते २०:२७
साविक विजेता अर्जेन्टिनाले भोलि अल्जेरियासँग पहिलो खेल खेल्दै

काडमाडौं :  विश्वकपको समूह जे अन्तर्गत भोली बिहान दुई रोमाञ्चक खेल हुँदैछन् । पहिलो खेलमा साविक विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी शक्ति अल्जेरिया आमनेसामने हुनेछन् । एरोहेड स्टेडियम, क्यान्सास सिटीमा नेपाली समयअनुसार भोली बिहान पौने ७ बजे खेल सुरु हुनेछ । त्यस्तै, युरोपेली टोली अष्ट्रियाले विश्वकपको डेब्युटान एसियाली राष्ट्र जोर्डनसँग बिहान पौने १० बजे प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिना भर्सेस अल्जेरिया

विश्वकपको मुख्य दाबेदार र साविक विजेता अर्जेन्टिना आफ्नो यात्राको बलियो सुरुवात गर्ने लक्ष्यमा छ। अर्कोतर्फ, प्राविधिक रूपमा बलियो अल्जेरिया ठूलो उलटफेर गर्ने सोचका साथ मैदान उत्रनेछ ।

अर्जेन्टिना

उपाधि रक्ष अभियानमा रहेको अर्जेनिटनाका कप्तान लियोनेल मेस्सीको छैटौं विश्वकप हुनेछ । प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको यो टोलीमा लाउटारो मार्टिनेज, एन्जो फर्नान्डेज र जुलियन अल्भारेज जस्ता विश्वस्तरीय खेलाडीहरू छन् । मेस्सीकै वरिपरि अर्जेन्टिनाको आक्रमण केन्द्रित भएपनि तीव्र दबाब र ट्रान्जिसन टोलीको बलियो पक्ष हो ।

अल्जेरिया

अफ्रिकी महादेशको प्राविधिक रूपमा बलियो टोली अल्जेरिया २०१४ पछि पुनरागमन गर्दैछ ।

यो टोली शारीरिक र काउन्टर अट्याक फुटबलका लागि चिनिन्छ । डिफेन्समा केहि सुधार ल्याउने हो भने यो टोलीले समूहमा अप्रत्यासित नतिजा हासिल गर्न सक्छ ।

हेड टु हेड

यि दुईबीच अहिलेसम्म १ खेलमात्र भएको छ । जहाँ अर्जेन्टिनाले ४–३ को रोमाञ्चक जित हासिल गरेको थियो । तर विश्वकपको मञ्चमा भने यि दुई पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

प्लेयर टु वाच

अर्जेन्टिना

लियोनेल मेस्सीः खेल जीवनको उत्तरार्धमा रहेका मेस्सी अझै पनि अर्जेन्टिनाको टोलीका मुख्य मेरुदण्ड हुन् । उनको खेल निर्माण गर्ने शैली र फ्रिकिक क्षमता अल्जेरियाका लागि मुख्य चुनौती हुनेछ ।

अल्जेरिया

रियाद महरेजः अल अहलीका विङ्गर महरेजसँग युरोपेली फुटबलको उच्च अनुभव छ। उनको ड्रिब्लिङ र पासिङ डिफेन्स चिर्न माहिर मानिन्छ ।

अष्ट्रिया भर्सेस जोर्डन

युरोपको अनुशासित टोली अष्ट्रिया र पछिल्लो समय एसियाली फुटबलमा सनसनी मच्चाइरहेको जोर्डनबीचको यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

अस्ट्रिया

युरोपेली छनोटमा २२ गोल गर्दै अस्ट्रियाले आफ्नो अट्याकिङ क्षमता प्रमाणित गरिसकेको छ । जर्मन लिगमा खेलेका अनुभवी खेलाडीको बाहुल्यता रहेको टोली जुनसुकै ठूला प्रतिद्वन्द्वीलाई स्तब्ध पार्न सक्षम छ ।

जोर्डन

एसियाली क्षेत्रबाट सनसनीपूर्ण प्रदर्शन गर्दै जोर्डनले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । टोलीमा ठूला नाम नभए पनि उनीहरूको टिमवर्क र रक्षात्मक रणनीति निकै बलियो छ । डिफेन्सिभ र काउन्टर अट्याकमा आधारित यो टोलीलाई यस समूहको सरप्राइजका रुपमा हेरिएको छ ।

हेड टु हेड

अष्ट्रिया र जोर्डनबीच फुटबल इतिहासमा यसअघि कुनै पनि आधिकारिक खेल भएको छैन ।

प्लेयर टु वाच

अष्ट्रिया

मार्सेल सबित्जरः बोरुसिया डर्टमन्डका यी मिडफिल्डर अष्ट्रियाको इन्जिन हुन् । बक्स टु बक्स मिडफिल्डिङ र लङरेंज सुटका लागि उनी प्रख्यात छन् ।

जोर्डन

मुसा अल तामरीः फ्रान्सेली क्लब रेनेसबाट व्यावसायिक फुटबल खेल्ने अल तामरीलाई जोर्डनका मेस्सी भनिन्छ । उनको गति र काउन्टर अट्याक गर्ने क्षमता जोर्डनको मुख्य हतियार हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *