विश्वपकमा ९६ वर्षपछि भिड्दै अमेरिका र पाराग्वे
काठमाडौं : विश्वकप अन्तर्गत समूह डी को पहिलो खेलमा भोलि सहआयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुँदैछ । क्यालिफोर्नियाको लस एन्जलस, सोफाई स्टेडियममा यो खेल नेपाली समय अनुसार भोलि बिहान पौने ७ बजे सुरु हुनेछ । अमेरिकामा उद्घाटन समारोहपछि हुने यो खेल दक्षिण र उत्तरी अमेरिकी राष्ट्रको प्रतिष्ठासँग जोडिएको छ ।
घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै माउरिसियो पोचेटिनोको प्रशिक्षणमा रहेको अमेरिका सुखद सुरुवात गर्ने लक्ष्यमा छ। अर्कोतर्फ, १६ वर्षको लामो पर्खाइपछि विश्वकपमा फर्किएको र छनोट चरणमा ब्राजिल तथा अर्जेन्टिना जस्ता हेभीवेट टोलीलाई हराएर सनसनी मच्चाएको पाराग्वे त्यहि लय कायम राख्दै अमेरिकालाई स्तब्ध पार्ने दाउमा छ ।
अमेरिका
प्रतियोगिताको सह आयोजकको रूपमा, अमेरिकालाई घरेलु मैदानमा प्रदर्शनका लागि हौसलासँगै दबाब पनि उतिकै हुनेछ । पछिल्ला वर्षमा निखारिएका युवा प्रतिभाको मिश्रणले अमेरिकाको आक्रामक र तीव्र खेल शैली थप मजबुत बनेको आंकलन गरिएको छ । पहिलो संस्करणको विश्वकपमै तेस्रो भएको अमेरिकाले त्यसयता भने त्यो स्तरसम्म पुग्न सकेको छैन ।
पाराग्वे
दक्षिण अमेरिकी टोली परम्परागत रूपमा समूहमा सबैभन्दा अनुशासित र संरचित रक्षात्मक टोली हो । दक्षिण अमेरिकी छनोटबाट कठिन प्रतिस्पर्धा पार गर्दै पाराग्वेले विश्वकपमा स्थान बनाएको हो । १६ वर्षपछि विश्वकपमा पुनरागमन गर्न लागेको पाराग्वेमा अनुभवी खेलाडीको उपस्थिति देखिँदा सेटपिस र काउन्टर अट्याकमा खतरनाक बन्न सक्छ ।
हेड टु हेड
अमेरिका र पाराग्वेको फुटबल इतिहास निकै रोचक छ।
दुवै टोलीबीच अहिलेसम्मको समग्र नतिजामा अमेरिका केही अगाडि देखिन्छ । अहिलेसम्म यि दुईबीच कुल ९ खेल भएका छन्, जसमा अमेरिकाले ५ खेल र पाराग्वेले २ खेल जितेको छ । बाँकी २ खेल बराबरीमा सकिएका छन् । विश्वकपमा भने यि दुई दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । सन् १९३० को पहिलो विश्वकपमा अमेरिकाले पाराग्वेलाई ३-० ले हराएको थियो ।
प्लेयर टु वाच
अमेरिका
क्रिस्चियन पुलिसिकः अमेरिकी टोलीका मुख्य पोस्टर ब्वाइ तथा एसी मिलानका स्टार विङ्गर पुलिसिक यो खेलका प्रमुख खेलाडी हुन् । टोलीको आक्रमणको सम्पूर्ण जिम्मेवारी कप्तान पुलिसिककै काँधमा हुनेछ। उनको गति, ड्रिब्लिङ र गोल गर्ने क्षमता पाराग्वेको बलियो रक्षापंक्ति तोड्नका लागि निर्णायक साबित हुनेछ ।
पाराग्वे
जुलियो एन्सिजोः पाराग्वेका २२ वर्षीय प्रतिभाशाली फरवार्ड एन्सिजो टोलीका मुख्य हतियार हुन् । प्रिमियर लिग र युरोपेली फुटबलको अनुभव बटुलिसकेका उनी काउन्टर अट्याकमा घातक साबित हुन सक्छन् । उनको सिर्जनशीलता र लङरेन्ज प्रहार गर्ने क्षमताले अमेरिकी डिफेन्सलाई समस्यामा पार्न सक्छ ।
घरेलु वातावरण र युवा टोलीको जोशका कारण अमेरिका खेलको दाबेदार त हो, तर दक्षिण अमेरिकी छनोटमा ठूला टोलीलाई घुँडा टेकाएको पाराग्वेलाई कमजोर आँक्न मिल्दैन । समूह डीमा अस्ट्रेलिया र टर्की जस्ता बलिया टोली समेत रहेकाले नकआउट यात्रा सहज बनाउन दुवैका लागि यो खेल जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया