नेपालको राजनीति- हिजोको शत्रु, आजको मित्र !

काठमाडौं : हुँदै नभएको शत्रुता, देखावटी मित्रता ! नेपालको राजनीति साँच्चै रमाइलो छ । आज खप्की खान्छन्, भोलि गला मिलाउँछन् ।
आज संसदमा आगो ओकल्छन् । भोलि एउटै मञ्चमा बसेर मुस्कान छोड्छन् । बिहीबार फेरि त्यस्तै दृश्य देखियो । अघिल्लो दिनसम्म कटाक्षमै सीमित रहेका तीन ठूला दलका नेताहरू- केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा- एउटै मञ्चमा मुस्कुराउँदै देखिए ।
यो बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राख्नुभएको तस्वीरसहितको स्ट्याटस ।
उहाँ भन्दै हुनुहुन्छ- मेरा मित्र देउवा र प्रचण्ड ।
हुन पनि तीन शीर्ष नेता एउटै सार्वजनिक कार्यक्रममा उपस्थित हुनु आफैमा नौलो हो । तीनै नेताको उपस्थितिले खास अर्थ राख्छ पनि । त्यो पनि यस्तो बेलामा जहाँ राजावादी गणतन्त्रको खारेजी र राजतन्त्रको वकालत गरिरहेका छन् ।
तर तस्वीर अघिको पछिल्लो माहोल हेर्ने हो भने प्रधानमन्त्री ओली र सभापति देउवा प्रतिपक्षको घेराबन्दीमा परेका छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि संसद अवरूद्ध छ । सडकमा आन्दोलन चलिरहेको छ । यतिसम्मकी बुधबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले घिसिङलाई हटाउनुको चित्तबूझ्दो जवाफ नदिए सदन अवरुद्ध भइरहने चेतावनी दिनुभएको थियो ।
भलै त्यसको जवाफ प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममार्फत् एउटा कर्मचारी हटाएर अर्को कर्मचारी नियुक्त गरेको नै प्रधानमन्त्रीको जवाफ भएको बताउनुभएको थियो ।
त्यसमाथि सरकार परिवर्तनको हल्ला चलिरहँदा तीन नेताको एउटै कार्यक्रममा उपस्थिति हुनुलाई नौलो मानिनु जायज छ । तर यो कार्यक्रममा यो दृश्य अपवाद जस्तो देखिएपनि विषयवस्तुका कारण तीन नेता एक ठाउँमा थिए । कारण थियो, संक्रमणकालीन न्यायको विषय ।
नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन भएकाले तीनै नेता उपस्थित भएर एकै श्वरमा शान्ति प्रक्रिया टुंग्याउने प्रतिबद्धता जनाएका थिए । तीन नेताले प्रतिबद्धता जनाइरहँदा पीडित भने राज्यसँग गुहार मागिरहेकै थिए ।
रोचक त ! प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेपनि कार्यक्रममा भने प्रचण्डलाई व्यंग्य हान्न छाड्नुभएन । शान्ति प्रक्रियासँग एउटा कर्मचारीको साइनो नहुने भन्दै उहाँले प्रचण्डलाई कटाक्ष गर्न भ्याउनुभयो ।
ओलीको यो बोली आउनुको कारण भने प्रचण्डको बुधबार संसद बाहिर सञ्चारकर्मीलाई दिएको प्रतिक्रियासँग सम्बन्धित छ । प्रचण्डले बुधबार शान्ति प्रक्रिया टुंग्याउनेबारे छलफलमा बसेको साँझ मन्त्रिपरिषदको बैठक बसेर कुलमानलाई हटाएपछि आफ्नो पनि समर्थन रहेको जस्तो देखाउन खोजिएकोमा असन्तुष्टि जाहेर गर्नुभएको थियो ।
बिहीबारको कार्यक्रमले फेरि एकपटक प्रमाणित गर्योि, राजनीतिमा स्थायी शत्रु-मित्र केही हुँदैन । अहिले लडिरहेका छन् भने पनि भोलि मिल्न सक्छन्, अहिले मिलेर बसेका छन् भने पनि भोलि टाढिन सक्छन् । राजनीतिक गन्थनभन्दा माथि उठेर हेर्ने हो भने यो शक्ति सन्तुलनको खेल हो । सत्ता बचाउने, आलोचना गर्नुपर्ने बेलामा गर्ने, मिल्नुपर्ने बेलामा मिल्ने – यही हो नेपाली राजनीति ।
प्रतिक्रिया