बिशेष

तारकेश्वरको सरकारी जग्गामा कांग्रेस नेताको गिद्देदृष्टि

हिमालय टिभी
२०८१ फागुन ३० गते २०:१८
तारकेश्वरको सरकारी जग्गामा कांग्रेस नेताको गिद्देदृष्टि

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर केदारनरसिंह केसीले काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजुमा रहेको सार्वजनिक जग्गा मिचेको पाइएको छ ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका केसीले मालपोत कार्यालयले नै किटान गरेको कित्ता नम्बर ६३ को जग्गा मिचेको भेटिएको हो । त्यसमा पनि कित्ता नम्बर ६२ समेत मालपोत मिलाएको केसीलाई आरोपछ । यो विषय प्रतिनिधिसभाको बैठकमा समेत रेकर्ड भएको छ । स्थानीय पालिकाले समेत मिचेको ठहर गरेपनि फर्काउने निर्णायक प्रयास गरेको छैन ।

कांग्रेस नेता केदारनरसिंह केसीले काठमाडौंको तारकेश्वर नगरपालिका– ९, मनमैजुस्थित सरकारी जग्गा मिचेको मालपोत कार्यालय मनमैजुको पत्रले पुष्टि गरेको छ । मनमैजु लोकतान्त्रिक चोकसँगै रहेको कित्ता नं. ६३ को २६३.६१ वर्गमिटर जग्गा मिचेर कम्पाउन्डसमेत लगाएका हन् ।

कित्ता नं. ६२ को २१.६२ वर्गमिटर त ३० साउन ०७६ मा मालपोत कार्यालय मनमैजुको निर्णयपछि केसीको नाममा नामसारी नै गरेको भेटिएको छ। विगतमा यो जग्गामा नेवार समुदायका काखे बालबालिकाको मृत्यु हुँदा दाहसंस्कार हुने स्थाल रहेछ। उक्त क्षेत्रमा २०३९ मै ५१ आना जग्गा खरिद गरेका केसीले आडैमा रहेको सरकारी जग्गा पनि मिचेको स्थानीयले बताएका छन् ।

गत साउन १६ गतेको मितिमा मालपोत कार्यालय मनमैजुले तारकेश्वर नगरपालिकालाई लेखेको पत्रमा भनिएको छ, ‘काठमाडौँ जिल्ला साविक मनमैजु वडा नं.९ सिट नं. १०२०९४४२३ कित्ता नम्बर ६२ क्षेत्रफल २१.६२ वर्ग मिटर जग्गा धनी केदारनरसिंह केसीका नाममा र कि.नं.६३ क्षेत्रफल २६३.६१ नेपाल सरकारका नाममा यस कार्यालयको मोठ स्रेष्तामा जनिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’ यसैका आधारमा पनि केसीले जग्गा मिचेको पुष्टि हुन्छ। जग्गा मिचिएको विषयमा चर्चा भएपछि छानबिन गर्दा कम्पाउन्डभित्र भएको जग्गा लालपुर्जामा भन्दा धेरै देखिएको छ। उहाँले भने लालपुर्जा भएको कारण आफूले किनेको दाबी गर्नु भएको छ ।

कांग्रेसबाटै निर्वाचित तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले केसी कम्पाउन्ड लगाएको जग्गा सरकारकै रहेको बताएका छन् । केसीले मिचेको सरकारी जग्गा फिर्ता ल्याउन वडा नम्बर ९ का अध्यक्ष श्यामकृष्ण महर्जनलाई जिम्मेवारी तोकिएकोछ । स्थानीय सरकारले जग्गा फिर्ता ल्याएर तारबार लगाउन पनि रकम छुट्याइसकेको छ ।

मालपोत कार्यालय मनमैजु चलानी नम्बर ४१२, २४ साउन २०७६ को पत्रअनुसार मालपोत कार्यालय सट्टापट्टा समितिको १६ साउन ०७६ को निर्णयअनुसार कित्ता नं. ६२ को जग्गाधनी केदारनरसिंह केसी कायम गरिएको मालपोतको ढड्डामा उल्लेख छ । सोही कित्ता भएको क्षेत्रमा केसीले २०३९ मा ५१ आना जग्गा खरिद गरेका थिए । जग्गा ढिस्कोको स्वरूपमा थियो । उनले उक्त ढिस्को खारे । त्यसपछि आफूले किनेको जग्गासँगै कित्ता नं। ६२ र ६३ को जग्गामा पनि कम्पाउन्ड लगाएका थिए । केसीको लालपुर्जामा भन्दा बढी जग्गा कम्पाउण्डले घेरिएको छ ।

५१ आनामध्ये ४८ आना आफ्नै नाममा राखेका केसीले तीन आना श्रीमती रेखा थापा केसीको नाममा गराएका राखेका छन् । यसविषमा प्रतिनिधसभामा पनि प्रश्च उठेको छ । रास्वपा सांसदहरु सुमना श्रेष्ठ र शिशिर खनालले काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ मा रहेको लोकतान्त्रिक चोकको सार्वजनिक जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको स्थानीयले गुनासो गरे, उजुरी पनि दिए तर स्थानीय सरकारले व्यवास्था गरेको आरोप लगाए ।

सांसदद्वयले बोलेपछि कांग्रेस सांसदहरुले त्यसको विराधे गरे। उनीहरुले संसदको रेकर्डबाटै हटाउन पनि माग गरे। प्रतिनिधिसभामा कांग्रेस–रास्वपा सांसद भनाभन चल्दै गर्दा मनमैजू मालपोत कार्यालयले खुलाइ पठाइएको सम्बन्धमा भन्ने शीर्षकको पत्र सार्वजनिक भयो । त्यसपछि कांग्रेस सांसदहरु मौन बसे र विषयान्तर भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *