राजावादीभन्दा गणतन्त्र पक्षधरविरुद्ध बढी आक्रोशित बन्दै प्रचण्ड

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजवादीभन्दा पनि गणतन्त्र पक्षधरहरुविरुद्ध बढी आक्रोशित सुनिनुभएको छ ।
राजावादी दल र समूह सलबलाएको बाहना बनाएर पार्टीको तराई–मधेश जागरण अभियान नै स्थगित गर्नुभएका प्रचण्ड आफ्नो अभिव्यक्तिमा भने ठिक उल्टो राजावादीहरुसँग नरम सुनिनुभयो । प्रतिगामी शक्तिले टाउको उठाउन खोजेको आफ्नै भाष्यविपरीत मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रचण्ड लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारविरुद्ध नै बढी आक्रोशित बन्नुभयो ।
माओवादीले तराई–मधेश जागरण अभियान स्थगित गर्दा भनेको थियो, ‘गणतन्त्र हामीले ल्याएका हौँ, प्रतिगामी शक्तिहरु सल्बलाउन खोजे, त्यसकारण काठमाडौं केन्द्रित कार्यक्रम गरी प्रतिवाद गर्ने र तत्काललाई अभियान स्थगित गर्ने ।’ तर भोलिपल्ट प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न उभिनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनै राजावादीहरुसँग नरम सुनिनुभयो । गणतन्त्रमाथि संकट देखेका प्रचण्डले आफैले भनेका प्रतिगामी शक्तिलाई लोकतान्त्रिक प्रक्रियाबाटै राजा खोज्न ढाडस दिनुभयो । उहाँको अभिव्यक्ति नै यस्तो थियो कि, सरकारलाई विरोध गर्ने नाममा राजावादीहरुलाई खुसी पारिरहनुभयो ।
तर यही सम्बोधनमा प्रचण्ड लोकतान्त्रिक विधि र प्रक्रियाबाटै स्थापित भएको सरकारविरुद्ध भने आक्रोशित बन्नुभयो । राजावादीविरुद्ध वा उहाँले भनेका प्रतिगामी विरुद्ध प्रतिवाद गर्ने मधेशबाट काठमाडौं फर्किएका प्रचण्ड सरकारविरुद्धको प्रतिवादमा उत्रिनुभयो ।
प्रचण्डको सरकारविरुद्धको अभिव्यक्तिले राजावादीहरु मुस्कुराए । प्रचण्ड सरकारबाट बाहिरिएको एक वर्षसमेत पुगेको छैन । यो एक वर्षमा वर्तमान सरकारले कयौँ कमजोरी गरेको होला । ती कमजोरीहरु उहाँ प्रतिपक्षमा पुगेपछि थाहा पाउनुभयो । तर गत असारको अन्तिम सातासम्म सरकारमा रहँदा प्रचण्ड स्वयम् पनि विवादरहित पात्रका रुपमा सरकारमा हुनुहुन्थेन ।
बरु वर्तमान शासकीय पद्धत्तिलाई सबैभन्दा धेरै अस्थिर बनाउने काममा प्रचण्ड सबैभन्दा बढी जिम्मेवार हुनुहुन्छ । तर अहिले आएर सरकारलाई विरोध गर्ने नाममा आफैले ल्याएको भनिएको गणतन्त्रविरुद्ध धावा बोल्नेहरुलाई ढाडस दिन र सरकारलाई गाली गर्न उहाँ सक्रिय बन्नुभएको छ ।
तर अनौठो के छ भने उहाँ आफ्ना अभिव्यक्तिमै स्थिर भने हुनुहुन्न । संसदमा सरकारलाई लल्कारेर राजावादी पार्टीप्रति सहानुभूति देखाउनुभएका प्रचण्ड आफैले नेतृत्व गरेको समाजवादी मोर्चा तीनै प्रतिगामी शक्तिका विरुद्ध प्रतिवादमा उत्रिने निर्णयमा पुगेको छ । मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगमनको विपक्षमा शक्ति प्रदर्शन गर्ने निर्णय नै गरिसकेको छ ।
यतिमात्र होइन, उहाँले तराई मधेस जागरण अभियान स्थगित गर्नुअघि रौतहटमा सञ्चारकर्मीहरुसँग बोल्दै कथित प्रतिगामी शक्तिहरुलाई नै गाली गर्नुभएको थियो । सडकमा एउटा, संसदमा अर्को र पार्टी कार्यालयमा त्यो भन्दा फरक अभिव्यक्ति दिएर प्रचण्डले आफ्नो राजनीतिक एजेण्डालाई नै दुविधामा पारिदिनुभएको छ ।
उहाँको यस्तो दोहोरो चरित्रले खास माओवादी वा लोकतान्त्रिक शक्तिहरुले चाहेको के हो ? सत्ता मात्र हो कि उत्कृष्ट व्यवस्था भन्नेमा नै अन्योल बढाउने खतरा देखिएको छ ।
प्रतिक्रिया