माधव नेपाललाई डोर्याएर पार्टी फुटाउन उक्साउने नेताहरु कता हराए ?

काठमाडौं : नेकपा एमालेबाट छुटाएर माधव नेपाललाई छुट्टै पार्टी बनाउन उक्साउने केही चर्चित अनुहारहरु अहिले माधव नेपालको नयाँ पार्टीमा गुमनाम जस्तै छन् ।
माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बनाउन हात समाएर निर्वाचन आयोग पुर्यााउनेदेखि आर्थिक रुपमा भरथेगको आश्वासन दिएका नेताहरुसमेत अहिले उहाँको साथमा छैनन् । कहाँ गए आखिर ती चर्चित अनुहार
प्रतिनिधिसभा विघटनको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसक्ने भएपछि वरिष्ठ नेता माधव नेपालसहितका ९५ जनाले नयाँ दल दर्ताका लागि २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
९५ जनाभित्र कयौँ चर्चित अनुहारसमेत थिए । अघिल्लो दिनसम्म एउटै कित्तामा उभिएका केही चर्चित अनुहार त्यही दिन नै छुटिसकेका पनि थिए । भीम रावल, योगेश भट्टराई, रघुजी पन्त, गोकर्ण विष्ट लगायतका कथित १० भाइले त्यसैदिन माधव नेपालको साथ छोड्दा केही समय लाभको पदमा पुगेकाहरु पनि अहिले साथमा छैनन् । केही नेता साथमा रहँदा पनि रहनुको अनुभूति छैन ।
को को थिए चर्चित अनुहार ? जो अहिले गुमनाम छन् ?
रामकुमारी झाँक्री
एमालेबाट विभाजित भएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाँदा माधव नेपालको हात समाएर डोर्योउने व्यक्ति हुनुहुन्थ्यो रामकुमारी झाँक्री । रामकुमारी झाँक्री माधव नेपाललाई डोर्यााएको कारणले मात्र होइन, लोकतान्त्रिक आन्दोलनका क्रममा युवा विद्यार्थीको नेतृत्वकर्ताका रुपमा आफैमा चर्चित नाम थियो ।
प्रतिनिधिसभा विघटनताका तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को भाषण गरेर थप चर्चामा हुनुहुन्थ्यो । विद्यार्थीदेखि संसदीय राजनीतिमा पुग्दासम्म चर्चामा रहेको यो अनुहार माधव नेपालको नेतृत्वमा नयाँ पार्टी बनेपछि मन्त्री पदसम्ममा पुगेकै हो । तर त्यसपछि निरन्तर ओरालो यात्रा तय भयो ।
अन्ततः नेपाल नेतृत्वको नेकपा एसको यसै वर्ष सम्पन्न महाधिवेशनमा उपाध्यक्ष लढेकी झाँक्री त्यसयता स्थायी कमिटी सदस्य त हुनुहुन्छ तर गुमनाम हुनुहुन्छ ।
प्रेमबहादुर आले
एमालेमा रहँदा औसत अनुहार प्रेमबहादुर आले एकीकृत समाजवादी पार्टीमा समाहित भएसँगै चर्चा र चासोमा पर्नुभयो । एकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दा केही काम गर्ने प्रयास गरेका आले छुच्चो बोलीका कारणसमेत चर्चामा हुनुहुन्थ्यो ।
कतिपयले आलेले पार्टी सञ्चालनका लागि आर्थिक रुपमा भरथेग गरेको समेत चर्चा गर्थे । २०७९ को आम निर्वाचनबाट पनि संघीय संसदमा पुगेका आले त्यसयता गुमनाम हुनुहुन्छ । पछिल्लोपटक काठमाडौंमा पार्टीको महाधिवेशन भइरहँदा उहाँ भारतको मुम्बैतिर घुमघाममा हुनुहुन्थ्यो । आले अहिले केन्द्रीय सदस्यसमेत हुनुहुन्न ।
कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)
कृष्णकुमार श्रेष्ठ पनि एकीकृत समाजवादीका पार्टीका लागि प्रेम आले जस्तै पात्र हुनुहुन्थ्यो । अध्यक्ष नेपालको विश्वासपात्र बनेका किसान श्रेष्ठलले सुरुवाती समयमा मन्त्री पद पाउनुभयो । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन गठबन्धन सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका श्रेष्ठ माधव नेपालका लागि भरोसाका केन्द्र बन्नुभएको थियो ।
तनहुँबाट निर्वाचित भएर पहिलोपटक संघीय संसदमा पुगेका श्रेष्ठले दोस्रो पटक बारामा पुगेर निर्वाचित जित्ने हैसियत बनाउनुभयो । तर उहाँ नै अहिले पार्टीमा गुमनाम बन्नुभएको छ । किसान श्रेष्ठ अहिले आफू माधव नेपालको पार्टीको नेता भएको भन्न नरुचाउने ठाउँमा पुग्नुभएको छ ।
यस्ता कयौँ नेताहरु थिए जसले माधव नेपाललाई नयाँ पार्टी निर्माणका लागि उक्साएनन् मात्र केही समय भरोसाका केन्द्रसमेत बने । तर समय घर्किँदै जाँदा कतिपय नेता एमालेमा फर्किँदै गए भने सांसद बनेकाहरु एमालेमै फर्किन नसके पनि एकीकृत समाजवादीबाट तर्किँदै गएका छन् ।
मुकुन्द न्यौपाने एमालेमा फर्किइसक्नु भएको छ भने प्रदीप नेपाल गुमनाम हुनुहुन्छ । जीवनराम श्रेष्ठ पार्टी नेतृत्वसँग सन्तुष्ट हुनुहुन्न, विरोध खतिवडा हराउनुभएको छ, सावित्रा भुसाल, कल्याणी कुमारी खड्का, पुरुषोत्तम पौडेल जस्ता नेताहरु देखिन छाडेका छन्।
अझै पनि सांसद पदका कारण कयौँ नेताहरु बाध्यतावश माधव नेपालसँग बस्नु परेको तथ्य ओपन सेक्रेट जस्तो छ ।
प्रतिक्रिया