नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं : बिस वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आयोजक नेपाल फाइनल प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा क्म्प्लेक्समा भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाइनल पुगेको हो । निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जहाँ नेपालका गोलरक्षक जियारथ शेखले भुटानका दुई पेनाल्टी प्रहारलाई बचाउँदै टिमलाई फाइनलमा पुर्याए ।
त्यसअघि खेलमा भुटानले नेपालविरुद्ध अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमै भुटानले अग्रता लिएको थियो । भुटानका लागि ५६ औँ मिनेटमा जेत्सुन दोर्जेले डिबक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत हुँदा नेपाली युवा टिम १–० ले पछि परेको थियो । तर, भुटानी खेलाडी ७७ मिनेटमा १० खेलाडीमा सीमित भएको मौकामा नेपालले बराबरी गोल गरेको थियो ।
आकर्षक पुनरागमन गर्ने क्रममा नेपालका लागि निराजन धामीले बराबरी गोल गरेका थिए । किंग्जन तेन्जाङ दोहोरो पहेलो कार्डका कारण मैदान छाडेका थिए । उक्त मौकामा नै पाएको फ्रि–किकको अवसरमै नेपालले बराबरी गर्न सफल भयो । नेपालका लागि निराजन धामीले गोल गर्दै बराबरी गरेका थिए ।
त्यसअघि दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । बराबरीपछि दुवै टिमबाट थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो । जहाँ नेपालले ४–१ ले खेल आफ्नो पक्षमा पार्यो । नेपालले उपाधिका लागि सोमबार हुने भारत र बंगलादेशको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया