Political Hightlights

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

हिमालय टिभी
२०७७ माघ १३ गते ७:३१
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

१३ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलका बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । तर संसद विघटनविरुद्ध आन्दोलन घोषणा हुने वा नहुने प्रष्ट भइनसकेको नेताहरुले बताएका छन् ।

केन्द्रीय समिति बैठक अघि हिजो पार्टी कार्यालय सानेपामा दुबै पक्षका नेताहरु छलफलमा जुटेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । तर सभापति निकट नेताहरुले भने सभापतिसँगै सल्लाह गर्नुपर्ने धारणा राखेका थिए ।

पौडेल पक्ष र कृष्ण प्रसाद सिटौला पक्षले भ्रातृ संगठनहरुलाई पनि परिचालन गरेर थप आन्दोलनका कार्यक्रम तय गर्नुपर्नेमा सभापति देउवालाई दबाब दिएको छ ।

पार्टी कार्यालयमा दुबै पक्षका नेताहरुको बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । नेताहरुले संसद विघटन असंवैधानिक भएकाले आन्दोलनका थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरु बताउँछन् । देउवाले अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने र अदालतलाई यसो गर भनेर आन्दोलन गर्न नहुने अभिव्यक्ति दिँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्