Main News

बालुवाटारमा यसरी भयो नागरिक मार्चमाथि प्रहरी दमन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते २०:३०
बालुवाटारमा यसरी भयो नागरिक मार्चमाथि प्रहरी दमन (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता हरेक दिन सडकमा विरोध प्रदर्शन भइरहेको छ । सर्वोच्चमा यो मुद्दा विचाराधीन छ । तर पनि नेकपाको ओली समूह बाहेक प्राय सबै दल र नागरिक समाजले प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएका छन् ।

बृहत नागरिक आन्दोलनको ब्यानरमा नागरिक समाजका अगुवाले पनि दैनिकजसो प्रदर्शन गरिरहेका छन् । त्यसै क्रममा उनीहरुले आज गरेको बृहत नागरिक मार्चपासमा प्रहरीले दमन गरेको छ । प्रहरीले हानेको पानीको फोहोरा र लाठि लागेर केही प्रदर्शनकारी घाइते भएका छन् ।

दिउँसो साढे २ बजे कमलपोखरीबाट शुरु भएको नागरिक मार्चपास शान्तिपूर्ण रुपमै अगाडि बढ्यो । मार्चपासमा सहभागी सबैले निधारमा कमलपोखरीको माटो पोतेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएको यो समूहले पछिल्लो समय कमलपोखरीमा भइरहेको अतिक्रमणलाई पनि प्रतिगमनको भन्यो । सुरक्षाकर्मीको घेराकै बिच मार्चपास अघि बढ्यो ।

विधिको शासन, बलियो लोकतन्त्र, इमानदार नेता र जनतामूखी कार्यको माग लिएर गणतन्त्र पार्क हुँदै नक्सालबाट बालुवाटार प्रवेश गर्न चाहेको समूहलाई प्रहरीले निषेधित क्षेत्र भन्दै बालुवाटारसम्म पुग्न दिएन । त्यसैले उनीहरुले त्यही छेउको चोकमा कोणसभा गरे । जुन सभाबाट २०६२–६३ को जनआन्दोलनको झल्को दिने कोशिस भैरहेको थियो ।

कोणसभामा विभिन्न रचनात्मक प्रस्तुतिमार्फत उनीहरुले सरकारका पछिल्ला कदमको विरोध गरे । उनीहरु भन्दै थिए लाखौं जनताको रगत पसिनाले तिम्रो सत्ताको जग बसेको छ । सुन सडकको आवाज सुन ।

संविधानमाथि नै आक्रमण भएको भन्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरुमा आवेग पनि थियो । त्यसैले उनीहरु त्यो बालुवाटारलाई नै सुनाउन चाहन्थे । तर प्रहरीले उनीहरुलाई जानै दिएन । बालुवाटारतर्फ अघि बढ्न चाहने समूह र प्रहरीबीच धकेलाधकेल भयो ।

प्रहरीले सक्दो बल प्रयोग गर्यो । प्रदर्शनकारीको कठालो समात्यो । प्रतिगनविरुद्ध नारा लगाएका उनीहरुलाई प्रहरी लाठी बर्सायो । यतिसम्मकी यो माघको ठन्डीमा चिसो पानीको फोहोरा बर्सायो ।

तर प्रदर्शनकारीले पानीको फोहोरा थापेरै भए पनि प्रतिगमनविरुद्ध नारा लगाइरहे । शान्तिपूर्ण आन्दोलन आक्रामक बन्यो । केही घाइते नै भए ।

तर उनीहरु त्यसबाट विचलित भएनन, उनीहरु फेरि संगिठत भए र ओली सरकारलाई हाँक दिए । अनि तेस्रो जनआन्दोलन शुरु भएको घोषणा गरे ।

लामो संघर्षपछि पाएको उपलब्धि नयाँ संविधान आएसँगै संस्थागत हुन्छ । र अब फेरि सडक तताउनु पर्दैन भनेर सोचिएको थियो । तर संसद विघटनपछिको पछिल्लो राजनीतिक अवस्थाले त्यसलाई खण्डित गरेको छ । नागरिक मार्च र प्रहरी दमन त्यसैको उदाहरण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *