राजनीति

प्रम ओलीले भने–’संसद विघटनको विरोध गर्ने देशद्रोही हुन'(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ११ गते २०:४७
प्रम ओलीले भने–’संसद विघटनको विरोध गर्ने देशद्रोही हुन'(भिडियो रिपोर्टसहित)

११ माघ २०७७ काठमाडौं । पछिल्लो समय हरेक दिन जसो हुँदै आएका कुनै न कुनै सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पुग्ने गर्नुभएको छ । र कार्यक्रम जुनसुकै विषयमा राखिएको किन नहोस् प्रधानमन्त्री ओलीको धेय भने आफ्नोविरुद्ध बोल्ने हरेकलाई जवाफ फर्काउने हुन्छ । त्यो पनि अति निकृष्ट भाषाको प्रयोग गरेर । आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँगको साक्षात्कारमा पुगेका प्रधानमन्त्री ओलीले आफ्नो विरोधमा बोल्नेलाई देशद्रोहीकै ट्याग भिराउनुभयो ।

सार्वजनिक कार्यक्रमबाट आफ्नो विरोध गर्नेलाई अपमान र लाञ्छित गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी जस्तै भैरहेको छ । संसद विघटन गर्ने आफ्नो कदमको बचाउ गर्ने क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक दल, पत्रकार, संचार माध्यम, नागरिक समाज र बुद्धिजीवी सबैलाई लाञ्छित गर्दै आउनुभएको छ । र, आइतबार उहाँले आफ्नो कदमको विरोध गर्ने सबैलाई देश, जनता र संविधान विरोधी भन्नसमेत भ्याउनुभयो ।

आफू र आफना सही अरु सबै गलत सावित गर्ने प्रयासमा लागेका प्रधानमन्त्री यतिमै रोकिनुभएन । आफनो विरोध गर्ने सबैलाई देशद्रोही भनेर गम्भीर आरोप लगाउनुभयो । र, उनीहरुलाई तह लगाउन नै चुनाव गर्न लागेको दावी गर्नुभयो ।

प्रधानमन्त्री एकातिर चुनाव गरेर संसद बनाउने कुरा गर्दै हुनुहुन्छ, तर अर्कोतिर त्यस्तो जनप्रतिनिधिमूलक संस्थाप्रति उहाँको कुनै सकारात्मक दृष्टिकोण छैन । उहाँलाई आफ्ना बारेमा प्रश्न उठाउने त्यस्तो संस्था नै चाहिएको छैन । आफैलाई मुलुकको जिम्मेवारी दिने संसदसमेत उहाँको अगाडि केही होइन र छैन । स‌सद र सांसदबारेको उहाँको यो अभिव्यक्तिले त्यही पुष्टि गर्छ ।

मुलुकको कार्यकारी प्रमुखले यसरी दुर्वचनको प्रयोग नगरे हुन्थ्यो भन्ने माग पनि भैरहेको छ । तर प्रधानमन्त्री ओली आफ्नो बोलीमा लगाम लगाउने होइन, थप उन्मत्त भएर बोल्ने दिशामा जानुभएको छ ।

आइतबारको पछिल्लो अभिव्यक्ति त्यसैको प्रमाण हो । राजनीतिक लडाइँमा जसले जसको विरोधमा जे पनि बोल्ने परिपाटी छ भन्दैमा देश हाँकिरहेका र अभिभावकीय भूमिकामा रहेका प्रधानमन्त्रीले जनताका आवाज दबाउन खोज्नु स्वीकार्य हुन सक्दैन । म बाहेक अरु सबै गलत भन्ने मानसिकता ‘म नै राज्य हुँ’ भन्ने सोचको उपज हो । यसमा प्रधानमन्त्रीले पुनर्विचार गर्नैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्