Political Hightlights

संसद पुनर्स्थापना भए पनि नेकपाका कारण समस्या समाधान हुँदैनः अध्यक्ष ठाकुर

हिमालय टिभी
२०७७ माघ ११ गते १८:३५
संसद पुनर्स्थापना भए पनि नेकपाका कारण समस्या समाधान हुँदैनः अध्यक्ष ठाकुर

११ माघ २०७७ काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुनर्स्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कारण समस्या समाधान नहुने बताउनुभएको छ ।

ललितपुरमा आज भएको कार्यक्रममा अध्यक्ष ठाकुरले संसद पुनर्स्थापना भए पनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताउनुभएको हो । सत्तारुढ नेकपा कानूनी रुपमा विभाजित नभएकाले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उहाँको भनाई छ ।

कार्यक्रममा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । संघीयता, गणतन्त्र, समावेशिताजस्ता मुद्दाहरुलाई समाप्त पारी मुलुकलाई पछाडी धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संसद विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु हो उहाँले भन्नुभयो ।

वरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक पटक बदलिए पनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राख्नुभयो । कम्युनिष्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उहाँले आरोप लगाउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टीको शिवलाल थापा मगर समूहबीच एकीकरण भएको घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्