खेलकूद

पूर्वाधार र प्रशिक्षणसँगै दाङमा खेलकूदको माहोल बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १० गते १८:५३
पूर्वाधार र प्रशिक्षणसँगै दाङमा खेलकूदको माहोल बढ्दै (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ दाङ । केही वर्षअघिसम्म दाङमा खेल मैदान नै थिएन । त्यसैले राष्ट्रियस्तरमा दाङका खेलाडीको प्रतिनिधित्व नगन्य थियो । तर, पछिल्लो समय दाङको खेलकूद जुर्मुराएको छ । मैदानसँगै प्रतियोगिता पनि आयोजना हुन थालेपछि जिल्लामा खेलप्रतिको आकर्षण बढ्दो छ ।

दुई वर्षअघि आठौं राष्ट्रिय खेलकूदको आयोजक रहेको दाङमा अहिले खेलको माहोल राम्रो छ । राष्ट्रिय खेलकूदका क्रममा तुलसीपुर, घोराही, बेलझुण्डी र लमहीमा मैदान र कवर्ड हल बनेका छन् । नेपाली खेलकूदको महाकुम्भ आयोजनासँगै बनेका पूर्वाधारले दाङका युवा पुस्तामा खेलप्रति आकर्षण पनि बढेको छ । स्थानीय सरकारले पनि खेललाई महत्व दिन थालेका छन् ।

हालसालै प्रधानमन्त्री कप महिला क्रिकेट, मेयर कप भलिबल र फूटबल प्रतियोगितासँगै स्थानीयस्तरका प्रतियोगिता आयोजनाको क्रम पनि बढेको छ । इन्डोर प्रतियोगिता आयोजनाका लागि पनि पर्याप्त पूर्वाधार बनेका छन् । तर अब जिल्लामा लगानीको भने खाँचो छ । यसतर्फ सरोकारवाला निकायले चासो दिए दाङले खेलमा फड्को मार्न सक्छ ।

फूटबलमा भविष्य खोजिरहेका खेलाडीका लागि स्थानीय सरकार र विभिन्न संघसंस्थाले मञ्च तयार पारिदिएका छन् । नियमित प्रशिक्षणको वातावरण बनेको छ । तर, आर्थिक समस्याले भने खेलाडीलाई पनि पिरोलेको छ ।

कुना कन्दरामा रहेका प्रतिभावान खेलाडीले अवसर पाए नेपाली खेलकूद माथि उठाउन सहयोग पुग्नेछ । दाङमा विकास भएको खेलकूदको माहोलले खेलाडीको प्रतिभालाई राष्ट्रियस्तरमा उकास्न महत्वपूर्ण भूमिका खेल्न सक्नेछ । तर यसका लागि सरोकारवाला निकायले आर्थिक पक्षमा पनि ध्यान दिन आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्