खेलकूद

प्रधानमन्त्री कप क्रिकेटको समूह एबाट एपीएफ र आर्मी सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७७ माघ १० गते १८:०२
प्रधानमन्त्री कप क्रिकेटको समूह एबाट एपीएफ र आर्मी सेमिफाइनल प्रवेश

१० माघ २०७७ काठमाडौं । प्रधानमन्त्री कप एक राष्ट्रिय क्रिकेटको समूह ए बाट एपीएफ र आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ ।

आज कर्णाली प्रदेशलाई हराउँदै एपीएफले अन्तिम चारमा स्थान पक्का गरेको हो । यो समूहबाट आर्मी पनि सेमिफाइनलमा पुगेको छ । आज हारेपछि कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । आर्मी र एपीएफबीचको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ । दुबै टिमको ६ अंक भए पनि रनरेटका आधारमा एपीएफ शीर्षस्थानमा छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज एपीएफले कर्णालीलाई ७१ रनले पाखा लगायो । २ सय १८ रनको लक्ष्य पछ्याएको कर्णाली ४४ औं ओभरमा १ सय ४७ रनमा अलआउट भएको थियो । हेमन्त वलीले ५८ रन बनाए पनि कर्णालीलाई जीत दिलाउन सकेनन् ।

एपीएफका लागि किशोर महतो र वसन्त रेग्मीले ३–३ तथा भूवन कार्कीले २ विकेट लिए । त्यसअघि एपीएफ पहिले व्याटिङ गर्दै एक बल अगाडी २ सय १८ रनमा अलआउट भएको थियो । उसका लागि संदीप जोराले सर्वाधिक ६० रन बनाए । यस्तै अमर रौटेलाले ३१, सुभाष खकुरेलले २३, शंकर राना र भुवन कार्कीले १५–१५ रन बनाए । कर्णालीका अनुज चुनारा र रविन्द्र शाहीले ३–३ विकेट लिए ।

आजै भएको अर्को समूहको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । ६३ रनको झिनो लक्ष्य लुम्बिनीले १४ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । लुम्बिनीका सौरभ खनाल १८ तथा प्रकाश केसी १७ रनमा अविजित रहे । त्यस्तै कप्तान कृष्ण कार्कीले १५ रन बनाए । बलिङमा सुदूरपश्चिमका शेर मल्लले दुई विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ दशमलव ४ ओभरमा ६२ रनमै अलआउट भएको थियो । उसका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाए । त्यसबाहेक सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङमा लुम्बिनीका कृष्ण कार्कीले चार तथा अनिल खरेल र विक्रम भुसालले दुईदुई विकेट लिए । दोस्रो जीतपछि लुम्बिनी चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताबाट बाहिरिइसकेको सुदूरपश्चिम अंकविहीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्