सिकलसेल एनिमिया : थारु समुदायको प्रमुख स्वास्थ्य समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १० गते १७:३५
सिकलसेल एनिमिया : थारु समुदायको प्रमुख स्वास्थ्य समस्या (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ नेपालगञ्ज । सिकलसेल थारु समुदायमा मात्रै देखिएको वंशानुगत रोग हो । चिसोका कारण यो रोगका बिरामी बढी समस्यामा पर्छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि सिकलसेलका बिरामीको संख्या बढेको छ ।

बर्दियाको गेरुवा गाउँका उमेशकुमार चौधरीको परिवार समयमै रोगको पहिचान नहुँदा तीन महिनासम्म तनाबमा पर्‍यो । काठमाडौंको कीर्तिपुरमा पढ्दै गरेका उमेश कार्तिकको तेस्रो साता बिरामी पर्नुभयो । उहाँलाई तत्कालै कीर्तिपुर अस्पताल पुर्‍याइयो ।

कीर्तिपुर अस्पतालमा ठिक नभएपछि साथीभाइहरुले मेडिसिटी अस्पतालमा भर्ना गरे । मेडिसिटी अस्पतालमा १२ दिन भेन्टिलेटरमासहित करिव एक महिना बस्नुपर्‍यो । यतिबेलासम्म उपचारमा करिब २० लाख खर्च भयो ।

स्वास्थ्यमा सामान्य सुधार भए पनि रोग भने पत्ता लागेन । उमेश काठमाडौंबाट नेपालगन्ज फर्किएर भेरी अस्पतालमा जाँच गर्दा सिकलसेल एनिमियासँग लक्षण मिल्दोजुल्दो देखियो । जाँचको अन्तिम रिपोर्ट आइसकेको छैन । तर अहिले उमेशको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

सिकलसेल एनिमिया आदिबासी थारु समुदायमा मात्र देखिएको वंशाणुगत रोग हो । थारु समुदायमा यसले निकै ठुलो समस्या निम्ताइरहेको छ । सिकलसेलका बिरामीमा हात खुट्टा र शरीरका जोर्नी दुख्ने , रगतको कमी हुने जस्ता लक्षण देखिन्छ । शरीर अत्याधिक दुख्ने भएका कारण बिरामी निक्कै पीडामा हुन्छन् ।

सिकलसेल भए नभएको यकिन गर्न बिरामीको रगतको हिमोग्लोबिन इलेक्ट्रोफोसिस जाँच गर्नुपर्छ । सिकलसेल भएपछि आजीवन औषधि खानुपर्छ । सरकारले २०७२ भदौदेखि नेपालगन्जको भेरी अस्पतालबाट निशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

हालसम्म ८ सय ७ जनाले भेरी अस्पतालबाट निशुल्क स्वास्थ्य परीक्षण र औषधि पाइरहेका छन् । सिकलसेलका बिरामीलाई अत्याधिक चिसो र प्रचण्ड गर्मीमा शरीर दुख्ने समस्या धेरै हुन्छ । चिसो बढेसँगै भेरी अस्पतालमा उपचारका लागि आउने सिकलसेलका बिरामीको संख्या पनि बढेको छ ।

दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बसोबास छ । ती जिल्लामा बसोबास गर्ने करिब १० प्रतिशत थारु समुदायमा सिकलसेल एनिमिया रोगको समस्या रहेको बिभिन्न अध्ययनबाट देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *