राजनीति

संसद विघटनलाई अदालतले सदर गरे युद्ध हुने चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते १९:०७
संसद विघटनलाई अदालतले सदर गरे युद्ध हुने चेतावनी (भिडियोसहित)

९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया र संघीयता नै विघटन गर्न खोजेको भन्दै संसद विघटनलाई अदालतले सदर गरे युद्ध हुने चेतावनी दिनुभएको छ ।

संसद विघटनको विरोध गर्ने क्रममा प्रचण्डबाट अदालतमा दबाब पर्ने गरी धम्की आएको हो । संसद विघटनविरुद्ध काठमाडौंमा भएको सभामा प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाउनुभयो । तर ओलीको प्रयास सफल हुन नदिने उहाँको दावी छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम सदर गरे शान्ति प्रक्रिया डिरेल भएर युद्ध हुन सक्ने चेतावनी दिनुभयो । संसद विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेका बेला प्रचण्डको धम्कीपूर्ण अभिव्यक्ति आएको हो ।

प्रधानमन्त्री ओलीले आफूलाई सिध्याउन राजावादीसँग साँठगाँठ गरिरहेको पनि प्रचण्डले आरोप लगाउनुभयो । आफू र माधव नेपालबीच पनि फाटो ल्याउन ओलीले खेलिरहेको प्रचण्डको भनाइ छ ।

अहिले ६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र बुद्धिजीवि वर्गले प्रतिनिधि सभाको असंवैधानिक कदमको विरोध गरेको र प्रधानमन्त्री ओली एक्लिएको प्रचण्डले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्